राप्ती गाउँपालिकामा चिसो पेय पदार्थमा प्रतिबन्धः दुध उत्पादक किसानलाई प्रतिलिटर रु ४/- प्रोत्साहन स्वरूप प्रदान

घोराही, असोज ८, २०८१ः

दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १२ लाख बढी रकम प्रोत्साहन स्वरूप प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १ सय ५१ जना किसानलाई करिब १२ लाख २९ हजार रुपियाँ प्रदान गरेको हो ।

गाउँपालिकाले प्रतिलिटर ४ रुपियाँका दरले ३ लाख ५ हजार लिटर दुधमा प्रोत्साहन रकम प्रदान गरेको गाउँपालिकाका पशु तथा मत्स्य विकास शाखाका अधिकृत दामोदर आचार्यले जानकारी दिए । आचार्यका अनुसार पालिकामा रहेका १२ वटा निजी डेरी र १२ वटा ब्याबसायिक फर्ममार्फत किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।

बिगत दुई वर्षदेखि पालिकाले दुध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिन थालेको हो । स्थानीय तहबाट दुध उत्पादक किसानलाई प्रोत्साहन रकम प्रदान गर्ने राप्ती गाउँपालिका पहिलो हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा प्रति लिटर २ रुपियाँ प्रदान गर्ने गरिएको थियो । उक्त कार्यबाट किसान प्रभावित हुने देखिएपछि प्रोत्साहन रकम बढाइएको भन्दै शाखा अधिकृत आचार्य भन्नुहुन्छ, “किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रकम वृद्धि गरिएको हो । वास्तविक किसानलाई सहयोग पुगेको छ ।” पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले अनुदान दिन थालेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले गरेको नमुना सर्वेक्षणमा वार्षिक करिव ३० लाख लिटर दुध उत्पादन हुने गरेको छ । पालिकाले दुध, दहीको खपत बढाउनका लागि पालिकामा चिसो पेय पदार्थमा प्रतिबन्ध लगाएर दही, मोहीलाई प्रयोगमा ल्याएको छ । यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै किसानलाई बिक्री गर्न सहजता पुगेको किसान चन्द्रलाल चौधरी बताउनुहन्छ ।

पालिकाको अनुदानले आफू जस्ता दुध उत्पादक किसानलाई प्रोत्साहन मिलेको भन्दै चौधरीले भन्नुभयो, “दुःख गरेर दुध, दही बिक्री गर्दा पैसा आउने गरेको थियो । त्यसैमा उत्पादनका आधारमा पालिकाले समेत पैसा दिदा थप हौसल्ला बढाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!