काठमाडौं, ११ असोज २०८१ः
औषधि व्यवस्था विभागले आर्या फार्माल्याबबाट उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ।
उक्त कम्पनीको एफ्र्लोक्स सस्पेन्सन नामक ओफ्लोक्सासिन नामक झोल औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो। ओफ्लोक्सासिन ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।
उक्त ब्याचका औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ।कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिएको छ।
