भक्तपुर नगरपालिकाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर, ११ असोज २०८१ः

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४५ औं विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई सम्मान कार्यक्रम शुक्रबार एक भव्य समारोहबीच सम्पन्न भयो ।

कार्यक्रममा सम्मानित संस्कृतिकर्मी र सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गर्नुहुँदै सांसद सुवालले भक्तपुरलाई सफा, स्वच्छ र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न नगरबासीहरुलाई सरसफाइबारे सचेत पार्नुपर्ने बताउनुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने विचार राख्दै उहाँले नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे सजग पार्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छिकोङ व्यायाम श्वासप्रश्वाससँग सम्बन्धित शारीरिक व्यायाम भएको र यो व्यायाम सम्पूर्ण उमेर समूहको लागि फलदायी भएको उहाँको भनाइ थियो ।

संस्कृति भनेको सभ्यताको विकास हो र यहाँको कला संस्कृति, सम्पदा आदि संरक्षणले नयाँ पुस्ताको सेवा हुने धारणा राख्नुभयो ।
काठमाडौं केन्द्रित विकासले उपत्यकाको जनसंख्या अत्यधिक बढेको र धेरै समस्याहरु पनि निम्तिएको बताउँदै सांसद सुवालले पश्चिम नेपालको विकास गर्न नेपालको राजधानी दाङमा सानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सबैमा बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नपाले संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताउनुहुँदै भक्तपुर नपामा गत वर्ष १ लाख ४६ हजार विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गरेको बताउनुभयो । भक्तपुर नपाले २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । भक्तपुरका मूर्त अमूर्त सम्पदाहरु भक्तपुरका सम्पत्ति हुन् भन्दै उहाँले ती सम्पत्ति लोप हुनु भनेको राज्यको निम्ति ठूलो क्षति हुनु हो भन्नुभयो । सबै जाति, धर्म र संस्कृति रक्षा गर्नु राज्यको जिम्मेवारी र कर्तव्य भएको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले पर्यटन उद्योग नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोत भएको बताउँदै पर्यटन उद्योगको प्रवद्र्धनमा राज्यको लगानी आवश्यक छ भन्नुभयो । भक्तपुरले यहाँको मौलिकता जोगाउन गरिएका सांस्कृतिक गतिविधिहरु प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुरले पनि पर्यटकहरु लक्षित होम स्टेहरु सञ्चालन गरी पर्यटकहरुको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्छ भन्नुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जाले संस्कृतिकर्मी र सांस्कृतिक गुरु सम्मान कार्यक्रमले कलाकार र संस्कृतिकर्मीमा थप ऊर्जा र हौसला मिल्नेछ भन्दै भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नपासँग सहकार्य र समन्वयमा यहाँको व्यापार व्यवसाय प्रवद्र्धनमा जोड दिँदै आएको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सुवालले पर्यटन पथप्रदर्शकहरु, व्यवसायी संस्था र सहयोगीहरुहरूलाई कदर पत्र प्रदान गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले २२ जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट कलाकारहरूलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।

सोही क्रममा प्रमुख प्रजापति, प्रमुख प्रशसकीय अधिकृत वसन्त भट्टराई र संस्कृतिविद् विश्वमोहन जोशी, संग्रहालय अधिकृत यमुना महर्जनले आधुनिक विधा र परम्परागत विधाका विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । अतिथि सुरेन्द्रराज गोसाइँले पर्यटन सम्बद्ध संघ संस्था र ट्राभल एजेन्सीहरूलाई कदर पत्र प्रदान गर्नुभयो । उपप्रमुख जोशीले प्रतियोगिताका मूल्यांकनकर्तालाई मायाको चिनो र घिन्ताङघिसी, माक प्याखंका विजेताहरुलाई पुरस्कार वितरण र सहभागी समूहलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कोलाछें प्याखं समूहको फाकंदली प्याखं, गलसी पुखु देवी प्याखं समूहको देवी प्याखं र याताव दाफा भजन मण्डल झौखेलको माक प्याखँ पनि देखाइएको थियो ।

गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधामा मको लुसी प्याखं खल, भनपा ९ का विदिसा लवजू महिला उत्कृष्ट कलाकार, मुस्याख्व परिवार देवी प्याखं समूह भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार, सिद्धि गणेश प्याखं समूह भनपा ७ का विनेश खाइजु उत्कृष्ट बाल कलाकार, मंगलमाया वनमाला समेतको घिन्ताङघिसी समूह भनपा ७ का निर्देशक लक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र च्वङा गणेश सांस्कृतिक समूह भनपा १ का साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित हुनुभयो ।

आज सम्मानित हुने सांस्कृतिक गुरुहरू भ.न.पा वडा नं १ बाट देवचन्द्र बज्राचार्य र मंगलबहादुर भैल, वडा नं २ बाट रामभक्त ब्यान्जु र विकुबहादुर पक्का, वडा नं ३ बाट हर्षविर धुख्वा र बद्रीभक्त खबुजा, वडा नं ४ बाट न्हुछेकुमार प्रजापति र चन्द्रबहादुर कपाली, वडा नं ५ बाट जगनाथ त्वानाबासु र ब्रम्हकाजी दर्शनधारी, वडा नं ६ बाट आसराम अवाल र गणेशबहादुर सुवाल, वडा नं ७ बाट नारायणभक्त वनमाला र मोतिलाल लाखाजु, वडा नं ८ बाट तुल्सीनारायण गोसाई र कृष्णगोपाल प्याथ, वडा नं ९ बाट तुल्सीभक्त कोजु र राजाराम श्रेष्ठ, वडा नं १० बाट रामचन्द्र सुवाल र काजीलाल मुलगुठी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!