ईडीभी खुल्लाः आज राति ९:४५ बजेबाट आवेदन दिन सकिने

काठमाडौ, १६ असोज २०८१ः

आजबाट सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) खुला हुँदै छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयानुसार आज राति ९:४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ।
डीभीको म्याद आगामी कात्तिक २० गते राति १०:४५ बजेसम्म रहने दूतावासले जनाएको छ। डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ।

आवेदन दर्ता गर्दा आवेदकको पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य सूचीकृत गर्नुपर्ने दूतावासले जनाएको छ। उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य हुने विज्ञप्तिमा उल्लेख छ। एकजना व्यक्तिले डीभीका लागि एउटा मात्र आवेदन दिन पाउनेछन्। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्। डीभीका लागि फारम अनलाइन भर्नुपर्नेछ।

फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने पनि दूतावासले जनाएको छ। अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यो वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिने छ। यो वर्ष डीभी आवेदन भर्दा राहदानी अनिवार्य गरिएको छैन।

दूतावासले डीभी आवेदन भरेपछि आफ्नो कन्फर्मेशन नम्बरलाई सुरक्षित राख्न र कसैलाई पनि नदिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!