काठमाडौं, फागुन ८, २०७९ः
नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमवार बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
पदाधिकारी बैठकले सकेसम्म ३ वटा स्वार्थसहितको सहमति खोज्ने, नभए प्रधानमन्त्री प्रचण्डले अन्तिम निर्णय लिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । गणतन्त्र र संविधानको रक्षा‚ शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र दलहरूसँग सकेसम्म राष्ट्रिय सहमति खोजेर राष्ट्रपति उम्मेदवारी मनोनयनको एक दिन अगाडिसम्म उम्मेदवारको टुंगो लगाउने महराले बताउनुभयो ।‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भन्नुभयो, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो । यो कोसँग मिल्छ, हेर्दै जानुहोला ।’ उहाँले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नै पार्टीको नीति हुनुपर्नेमा छलफल केन्द्रीकृत भएको जानकारी दिँदैं फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।