सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न नगरपालिकाकोआर्थिक तथा भौतिक सहयोग ः प्रजापति
२०७९ फागुन ८ गते,
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले भेट गर्नुभयो । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर पुरुष खो खो प्रतियोगिता खेलको अवलोकन गर्न भक्तपुर आउनुभएका उपप्रमुख शाक्यले प्रमुख प्रजापतिसँग आज भेट गर्नुभएको हो । भेटमा उहाँहरुबीच भक्तपुरको शिक्षा, पर्यटन, कर्मचारी व्यवस्थापन, विकास निर्माणलगायतका विविध पक्षबारे अनुभन आदानप्रदान भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउनुहुँदै भक्तपुर नपाको मुख्य आयस्रोत पर्यटन भएको हुँदा पर्यटन प्रवद्र्धन र सम्बद्र्धनमा नगरपालिकाले विशेष भूमिका खेल्दै आएको बताउनुभयो ।
त्यस्तै किर्तिपुर नपाका उपप्रमुख शाक्यले भक्तपुर नपालाई नजिकबाट नियाल्ने अवसर प्राप्त भएकोमा खुशी प्रकट गर्दै नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताल सञ्चालनबारे रुचिपूर्वक जिज्ञासा राख्नुभयो । किर्तिपुर नपाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उहाँले स्थानीय तह जनताको नजिकको सरकार भएको हुँदा त्यसमार्फत धेरै विकास निर्माणको काम सम्भव भएको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, किर्तिपुर नपा सहकारी शाखाका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनलगायतको उपस्थिति रहेको थियो । नगर प्रमुख प्रजापतिले उपप्रमुख शाक्यलाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।