काठमाडौं, २७ कार्तिक २०८१ः
सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ। आज दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले समय अभावका कारण मङ्गलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिइन्। लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन्। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिएको छ।
बुधबार बिहान १० बजेदेखि पुनः जिल्ला सरकारी वकिलको कार्यालयमा बयान हुनेछ। जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए। गोर्खा मिडिया, सहकारीको रकम हिनामिनासँग सम्बन्धित विभिन्न ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरीले जनाएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई रूपन्देही ल्याएपछि प्रहरीले भैरहवा आसपासमा सुरक्षा कडा पारेको छ।