ललितपुर, ३० कार्तिक २०८१ः
ललितपुरका विभिन्न क्षेत्रमा महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको छ।
कात्तिक २५ गते केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर परीक्षण रिपोर्ट अनुसार ललितपुर महानगरपालिकाले चुनिखेल, नख्खु करिडोरका बङ्गुर–सुँगुरमा अफ्रिकन स्वाइन फिभर रोग लागेको पुष्टि भएको हो। महानगरपालिकाले रोग पुष्टि भएको हुँदा महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर/सुँगुर पालक कृषक/व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
महानगरपालिकाले सतर्कताका लागि जारी गरेको ८ बुँदे सूचना:
महानगरपालिकाको पशु सेवा शाखाले फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न र बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका निःसंक्रमणका औषधिहरू प्रयोग गर्न सूचनामा भनेको छ।
यस्तै, रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्याएर अलग्गै राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न, घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिन पनि महानगरपालिकाले सचेत गराएको छ।
रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाति तथा पाठापाठी, सङ्क्रमित मासु र दानाको ओसारपसार नगर्न पनि महानगरले भनेको छ।
अनिवार्यरूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर/बङ्गुर वा मासुको ओसार प्रसार गर्न, सुँगुर/बङ्गुर तथा बँदेललाई होटेल रेस्टुराँबाट फालिएका खानेकुरा नखुवाउन र तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरेमा राम्ररी पकाएर मात्र खुवाउन महानगरले सुझाएको छ।
