परासी, ४ मंसिर २०८१ः
पश्चिम नवलपरासीका किसानले उखु काट्ने समय भएकाले समर्थन मूल्य तत्कालै तोक्न माग गरेका छन्। केही किसानले उखु काट्न सुरु गरिसकेको र धेरैजसो किसानले समर्थन मूल्य कुरेर बसेकाले काटेका छैनन्। मूल्य तोक्न ढिलाइ हुँदा उखु काटेका किसानले पुरानै मूल्यमा भेली उद्योग र चिनी उद्योगलाई उखु विक्री गरिरहेका छन्।
हरेक वर्ष किसानले यही माग लिएर आन्दोलन गर्नुपर्ने अवस्था आउँदा समेत सरकारले समयमा नै मूल्य नतोक्दा समस्या बढेको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए। ‘सरकारले उत्पादन लागतको आधारमा समर्थन मूल्य तोक्नु पर्दछ,’ उनले भने, ‘यो वर्ष कम्तीमा पनि प्रतिक्विन्टल ७ सय १० रुपैयाँ मूल्य तोक्नुपर्ने हाम्रो माग हो।’
जिल्लामा लुम्बिनी सुगर मिल, इन्दिरा सुगर मिल र बागमती खाँडसारी चिनी उद्योग छन्। समयमा नै मूल्य नतोक्ने र भुक्तानी पनि समयमा नहुने भएपछि किसानले वर्षेनी उखु खेती छाड्दै गएका छन्।
यस वर्ष नवलपरासीमा करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ। केही वर्ष पहिले १२ हजार हेक्टरमा हुँदै आएको उखु खेती अहिले ५ हजार हेक्टरमा सीमित भएको छ।