राष्ट्रपति निवास शितलनिवासमा पहिलो पटक नेपाल संवतको औपचारिक कार्यक्रम

काठमाडौ, ४ मंसिर २०८१ः

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ ।

शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा आवद्ध राख्न पनि नेपाल संवतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त लोककल्याणकारी कार्यबाट प्रेरणा लिनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शंखधर साख्वालाई महामानवका रुपमा स्मरण गर्दै उहाँले देखाएको बाटोमा लाग्न जरुरी रहेको बताउनुभयो ।

यस्तै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले राष्ट्रिय विभूति शंखधर साख्वा र नेपाल संवतकाे प्रवर्द्धनका लागि थुप्रै कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश पर्यटन संस्कृति तथा सहकारी मन्त्री बिमल ठकुरी र शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानलाल श्रेष्ठलगायतले नेपाल संवतलाई राष्ट्रिय कामकाजको संवतको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा शंखधर साख्वाः र नेपाल संवत् काे प्रचार प्रसारमा विशेष योगदान दिइरहेकोमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई राष्ट्रपतिबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संयोजन रास्ट्रिय बिभुति शंखधर साख्वाः प्रतिष्ठानले गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!