एक महिनाभित्रै सबै प्रकारका औषधीको मूल्य समायोजन गरी एकरूपता कायम गर्ने
बागलुङ, ४ मङ्सिर २०८१ः
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रियाको थालनी गरिसकेको जानकारी दिनुभयो । मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा रहेका अस्पतालहरूमा पूर्वाधार निर्माण, दक्ष जनशक्ति र उपकरणको व्यवस्थापन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकारले विकट बस्तीमा रहेका स्वास्थ्य संस्थाहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । विपन्न र असहाय नागरिकले पनि सहज रूपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कोहिपनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सरकारले स्वास्थ्य क्षेत्रको सुधारका काम थालेको छ ।’’
एक महिनाभित्रै सबै प्रकारका औषधीको मूल्य समायोजन गरी एकरूपता कायम गर्ने उहाँको भनाइ थियो । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचिका आधारमा मुलुकभर औषधीहरू खरिद बिक्री हुने र बिरामीहरू ठगिन नपर्ने उहाँको भनाइ छ । सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको सञ्चालन गर्ने सरकारको योजना रहेको उहाँले बताए।
मन्त्री पौडेलले तथा उपकरण खरिद प्रक्रियामा सबै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उहाँको भनाई छ ।