काठमाडौं , ५ मंसिर २०८१ः
औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ। नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो।
परिषद्ले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ। ‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ।’
फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले जनाएको छ।
औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ । फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्री वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ।
औषधिको बिक्री वितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेपनि यो व्यवहारमा लागू भने भएको छैन।
साथै ४ पुसबाट ड्रेसकोडको पालना भए/नभएको सम्बन्धी अनुगमन परिषद्बाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने परिषद्ले जनाएको छ।