कृषि क्रान्तिको आवश्यकता ० कृष्ण प्रजापति

देश दिनहुँ जस्तो परनिर्भर हुँदै गइरहेको छ । आफ्नै देशमा कृषि उत्पादन बढाउनु पर्नेमा आफूहरुले उत्पादन समेत नगरी बाहिरबाट ल्याएर खाने चलन बढ्ने गरेकाले हामीहरु झन झन परनिर्भर हुन पुगेका हौं । पहिलादेखि नेपाललाई कृषि प्रधान देश भनिएको छ । त्यसो भएर पनि यहाँ कृषि औजार, विभिन्न खालका बिउ बिजनका साथ साथै विभिन्न खालका किटनाशक औषधी र रासायनिक मल उत्पादन नभएका कारण अहिले सम्म देशमा कृषि कर्म गरिरहेका मानिसहरुको जीवनस्तर भने त्यतिको उकास्न सकिरहेको छैन । अहिले पनि कमसेकम ७०।८० प्रतिशत नेपाली जनता कृषिमा निर्भर भइरहेका छन् । कल कारखाना, उद्योग त्यतिको विकास हुन नसकेका कारण मजदुर भन्दा पनि किसान जनता बढी छन् । अलि अलि भएपनि खेती गरेर आफ्नो जीवन बिताइरहेकाहरु यहाँ धेरै छन् । उपत्यका भित्र बाहिरका मानिसहरु त्यतिको नहुलेको बखत वा यहाँ भित्रका आदिवासी नेवाहरुको बाहुल्यता कायम भइरहेको बखतसम्म फाँटका फाँट जमीनमा धानबाली, गहूँबाली र आलुबाली उत्पादन गरी निर्यात समेत गर्ने षमता थियो । अहिले आएर त्यसको ठीक बिपरित हुन पुगेको छ । पहिला बेच्ने षमता रहेकोमा अहिले किन्न बाध्य भइसकेको छ ।

प्राकृतिक रुपमा पनि नेपाल सदाबहार बाली नादी बढ्ने देश हो । तर यहाँ सिंचाईको अभाव, सरकारी नीतिको कमजोरी र अत्यन्तै उत्पादनशील जग्गा भैकनपनि त्यसको ब्यवस्थापन गर्न नसकिरहेका कारण तराईको उत्पादन बढ्ने जग्गा समेत जलमग्न अवस्थामा परिणत भइरहेको छ । साथै काठमाडौं उपत्यका भित्र पहिला जति पनि उत्पादन बढिरहेको थियो, अहिले त्यसो गर्न सकिरहेको छैन । यस्तो अवस्थालाई नजर दिने हो भने हाम्रो देश नेपाल जतिको गतिशील भएर अगाडी बढ्नु पर्ने थियो, झन झन पछाडि पो सर्न थालेको हो कि भन्ने अनुमान गर्नु परिरहेको छ । यो हुनुको कारण पुरानो शैलीमा कृषि गर्ने परिपातिले गर्दा हो । सरकारले विभिन्न खालका आधुनिक कृषि औजारहरु प्रयोग गर्ने गराउने बन्दोबस्त गरिदिएको भए जग्गा बाँझो राख्ने चलन हटाउन सकिने थियो । अहिले पनि हामी कहाँ उत्पादन हुने बाली नालीले नै हामी आत्मनिर्भर भएर बाँच्न सक्ने अवस्था आउने थियो । तर त्यसो नभएका कारण करोडौं करोड रुपियाँको तरकारी दैनिक रुपमा भारत लगायत तेश्रो मुलुकबाट पनि ल्याई उपभोग गर्नु परिरहेको छ । यो विडम्बना कहिलेसम्म कायम रहने होला ।

कृषि विकास बैंकले कृषि उत्पादनको लागि कम ब्याजमा ऋण प्रवाह गर्ने धेरै कृषकहरुलाई जानकारी नै छैन । देशको पुरानो र निकै धेरै निषेप भएको बैंकहरु मध्ये कृषि विकास बैंक पनि एक हो । पहिलादेखि टाठाबाठाहरुको लागि कृषि विकास बैंकले ऋण प्रवाह गर्ने गरिरहेको थियो । उनले कतिपय अवस्थामा ऋण मिनाहा समेत गरिदिएको हुन्छ । तर साँच्चै खेती किसानी गरी खाने हजारौं कृषक लगायत बाख्रा पाल्ने, भैंसी पाल्ने, गाई पाल्ने तथा कुखुरा पालन गरी अण्डा उत्पादन गरी कृषि कर्म गरेका गाउँ गाउँका किसानहरुले भने त्यस खालका अनुदान प्राप्त गर्न सकेका छैनन् । त्यसले गर्दा कृषि विकास बैंकको अनुदान र ऋणबाट कमै मात्रामा साँच्चैका किसानहरु लाभाम्विन हुन सकिरहेको छ । त्यसबाट टाठाबाठाहरु बढी धनी हुने अवस्था सिर्जना भएको छ । अनुदान लिएर त्यस अनुदानबाट काम लिन जानेका र अनुदान मिनाहा गरी खाने प्रबृत्तिले गर्दा सरकार भने घाटा सहन बाध्य भएको छ । ब्यक्ति भने त्यसबाट धनी हुन थालेका छन् । त्यसैले पनि पहिलादेखि नै सरकार र सत्तासंग नजिक रहेकाले मात्रै त्यस खालको अनुदान सहयोग उपभोग गर्न सक्षम भइरहेको पाइन्छ । गरिब र निमुखा वास्तविक किसानहरु भने जहिले पनि पीडामा रहेका छन् ।

कृषि क्षेत्रलाई अहिले भन्दा तीब्र ढंगमा विकास गर्नको लागि पहिला किसानहरुले आफ्नो अधिकार के हो भन्ने बुझ्नु जरुरी छ । किसानको हक अधिकार र कार्य क्षेत्र निर्धारण गरी एउटा चल्ला हुर्काउने किसान समेत कृषक हो भन्ने धारणालाई बुझ्नु जरुरी छ । ब्यवसायिक कृषि गर्नेलाई के कस्तो ब्यवहार गर्ने र घरपालुवा जनावरको रुपमा गाई, भैंसी र कुखुरा पालन गरी आफ्नो लागि मासुजन्य पदार्थ र कृषि मल उत्पादन गरी जिउनेलाई कुन वर्गको कृषकको रुपमा राख्ने भन्ने अलग ब्यवस्था गर्न नसकेसम्म स्थानीय निकाय र सरकारले कुनै पनि खालको कृषकलाई सहयोग गर्ने वातावरण बनाउन सकिन्न । अहिले पनि सरकारले कृषि बिउ दिने भनिएपनि कतै धानको बिउ, गहूँको बिउ, आलुको बिउ वडा कार्यालय मार्फत् धमाधम वितरण भइरहेका छन् । तर त्यो अनिवार्य काम भएन । आफूलाई मन लागे दियो, नभए नदिए तापनि मतलबको कुरो भएन । यदि कृषि प्रधान देश भन्ने हो भने त्यसको निरन्तरता अनिवार्य गर्नु पर्ने थियो ।

समाज विकासको लागि, देशको आर्थिक क्रान्तिको लागि र देशलाई आत्मनिर्भर बनाउनको लागि सबै भन्दा पहिला हाम्रो देशमा उत्पादन हुने धान, गहूँ, आलु र तरकारीहरु हाम्रो देशको लागि पर्याप्त मात्रामा उत्पादन गर्नु पर्दछ । त्यसपछि सकेको खण्डमा अरुलाई बेच्ने पनि बन्दोबस्त गर्नु पर्दछ । त्यसको लागि कृषकहरुलाई कृषि अनुदान दिएर हुन्छ कि ऋण लगानी गरेर हुन्छ कि उनीहरुलाई उत्साहित गर्ने गर्नु पर्दछ । त्यसपछि मात्रै राम्रो र बढी उत्पादन हुने बिउ बिजनको बन्दोबस्त सरकारले गर्नु पर्दछ । आफ्नो देश भित्र त्यस खालको बिउ बिजन नभएको खण्डमा अन्य मुलुकबाट ल्याएर भएपनि यहाँ बाली लगाउने बन्दोबस्त गर्नु पर्दछ । अनि आधुनिक कृषि औजारको प्रयोग गर्ने वातावरण बनाउनेको लागि समेत ठाउँ ठाउँमा ट्याक्टर लगायत अन्य कृषि सामग्रीहरुको बन्दोबस्त गर्नु पर्दछ । भारतबाट सिजनको बेला भस्मासुर मेसीन ल्याएर गहूँ चुट्ने चलन हटाएर हाम्रो देशमा नै पहिला जस्तै थ्रेसर मेसीनको बन्दोबस्त गरी वडा कार्यालय मार्फत् सहायकको बन्दोबस्त गर्न सकिन्छ ।

अहिले सम्म पनि हामी हाम्रो देशको खेतीबाट राम्ररी कृषि उत्पादन गरी बाली लगाउने हो भने आत्मनिर्भर बन्न सक्दछौं । हामी कहाँ बाली राम्ररी उत्पादन गर्न नसकिएकै कारण लाखौं युवाहरु बिदेश पलायन हुन बाध्य छन् । आफ्नो देशमा मेहनत गरी उत्पादन गर्नुको अलग्गै मज्जा भन्ने भावना जगाएर युवा शक्तिलाई यहीं जीवन बिताउने परिपाति बसाउनु पर्दछ । त्यसको लागि पहिले कृषि उत्पादनमा क्रान्ति गर्नु आवश्यक छ । यहीं नगदे बाली र अन्न बाली बढी उत्पाादन गर्नको लागि सरकारले कृषि अनुदान र उत्पादनको ब्यवस्था गर्न सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!