भरतपुर, २० पुस २०८१ः
दिपेश लामिछाने
नविन प्रविधि कृषि सहकारी संस्था लिमिटेड, भरतपुर–१४, राधापुर (कालिका मन्दिर संस्था नजिक) को आयोजना तथा ए बी पेलेट फिडको प्रायोजनमा सम्पन्न एक दिने पशुपालन व्यवस्थापन तथा आहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम पौष २० गतेका दिन सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका सहकारी रोजगार प्रवद्र्धन शाखाका वरिष्ठ शाखा अधिकृत जीवलाल कुँवर, भरतपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजेन्द्र साँखी, नविन प्रविधि कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद पोखरेल, ए. बी. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक पीताम्वर सन्जेल, प्रबन्धक विवेक सन्जेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा.गणेश बन्जारा तथा ए. बी. प्यालेट फिडका दिपेश लामिछानेले ८० जना पशुपालक कृषकहरूलाई पशु पालन व्यवस्थापन, पशुलाई चाहिने आवश्यक आहारा लगायत पशुमा उपयुक्त पोषणका कमीले पर्ने असरहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो । डा. बन्जाराले कृषकहरुले गाईभैसी पालन गर्दा गोठ देखि ओठ सम्मको सरसफाइमा ध्यान दिदै व्यवसायलाई संचालन गर्नुपर्ने बताउनु भएको थियो । आहाराको बिषयमा कुरा राख्दै पशुलाई उचित मापदण्ड अनुसारको दाना प्रयोग गरि कृषकले दुध उत्पादनको वृद्धि संगै पशुको स्वास्थ्यको समेत ख्याल गर्न उहाले कृषकलाई सुझाव दिनु भएको थियो । यसका साथै ए बी पेलेट दाना गाई वस्तुलाई खुवाउँदाका फाइदा र दानाको गुणस्तरको पनि चर्चा गरिएको थियो ।
दानामा धेरै प्रकारको मिसावट संगै उचित प्रकारको सन्तुष्टि नपाएको कृषकको गुनासोलाई ए.बी. प्यालेट प्रा.लि.का प्रबन्धक पिताम्वर सन्जेलले बजारमा धेरै प्रकारका उद्योगले फरक फरक पौष्टिक तत्व भएको संगै दानामा युरियाको मात्रा अत्याधिक भएको दाना बिक्री गरिरहेकोले कृषकले सरकारले बनाएको मापदण्ड अनुसारको दाना खरिद गरि प्रयोग गर्न सुझाव दिएका छन ।
कार्यक्रममा एबी प्यालेट फिड प्रा.लि.ले उत्पादन गरेको शुभम र सुपर दानाको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा एबी प्यालेट प्रा.लिका कार्यकारी निर्देशक विवेक सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादन सम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताए । उनले एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा सहकारीका अध्यक्ष कम्पनीहरूले सुरुमा राम्रो दाना पठाउने तर पछि बिक्री बढ्न थालेपछि दानाको गुणस्तर घटाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रा लिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।
साथै यस कार्यक्रममा जय नेपाल दुग्ध उत्पादन सहकारी संस्थाका लिमिटेड, शुभ शान्ति दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, त्रिशक्ति दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, जय दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्था, गरिबी निवारण साना किसान सहकारी संस्था लिमिटेड, साना किसान सहकारी संस्था लिमिटेडका कृषकहरु तथा ब्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा उपस्थिति कृषकहरूले कार्यक्रम निकै फलदायक भएको, पशुको अवस्था अनुसार आहारा र दाना खुवाउने तरिका बारे धेरै कुरा सिकेको बताए ।