भक्तपुर नगरपालिका वडा नं. ६ चोछेँस्थित छुमा गणेश द्योछेंको शिलान्यास

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२५ भन्दा बढी सम्पदाहरुको पुनःनिर्माण  सम्पन्न : प्रमुख प्रजापति

भक्तपुर, २०७९ फागुन ११ः

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ६ चोछेँस्थित छुमा गणेश द्योछेंको बिहिबार शिलान्यास गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२५ भन्दा बढी सम्पदाहरु पुनःनिर्माण भैसकेको जानकारी दिनुहुँदै भक्तपुर नगरका सम्पदाहरु राष्ट्रिय महत्वका सम्पदाहरुको भएकोले यसको संरक्षण र सम्बद्र्धनमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो । सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपा्लिकाले विदेशीहरुका सहयोगलाई भन्दा जनताको साथ र सहयोगलाई प्राथमिकतामा राख्दै काम गरिआएको बताउँदै भक्तपुर शिक्षा र स्वास्थ्य सँगसँगै सम्पदा संरक्षणमा पनि उदाहरणीय बन्दै गएको बताउनुभयो । भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयास र स्थानीय जनताको साथ र अपनत्व रहेकै कारण भक्तपुर आज देशकै नमुना नगरपालिकाको रुपमा स्थापित हुन सफल भएको हो, प्रमुख प्रजापतिले भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ऐतिहासिक छुमा गणेश द्योछेँको पुनःनिर्माण कार्य निर्धारित समयमै मौलिक र गुणस्तरीय ढंगले सम्पन्न हुने विश्वास व्यक्तगर्दै द्यो छेँ निर्माणमा स्थानीय जनताको आर्थिक तथा भौतिक सहयोगको पनि अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाको विकास निर्माणबारे अवगत गराउँदै जनप्रतिनिधि जनताको सुख दुःखका सहयोगी भएको बताउनुभयो । उहाँले स्थानीय जनताको साथ र सहयोगविना वडाको गतिविधि अगाडि बढ्न कठिन हुने बताउँदै द्योछेँ पुनःनिर्माणमा यहाँका स्थानीय जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैंया सुवाल, वडा सदस्य गोविन्द दुवाल, स्थानीय शिक्षक जगनाथ सुजखू, वडा सदस्य सिद्धिराम अवाल र उपभोक्ता समिचिका सचिव रमिला प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!