बर्ड फ्लु रोगः परिचय, लक्षण र रोगबाट बच्ने उपायहरु

डा. राकेश प्रजापति
बरिष्ठ पशु चिकित्सक

बर्ड फ्लु रोग, इन्फ्लुएन्जा ए जातिका विषाणुको कारण पंछिहरुमा लाग्ने अति संक्रामक एवं
घातक रोग हो ।बर्ड फ्लु संक्रमणको शुरुवात सन् १९९६ मा चीनको ग्वाङडोङ्ग प्रान्तबाट
भएको मानिन्छ । सन् १९९७ मा हङकङमा मानिसको पनि मृत्यु हुने गरी यो रोग फैलिएको
थियो । नेपालमा सर्वप्रथम यो रोग सन् २००९ को जनवरीमा झापा जिल्लामा देखापरेको
थियो । त्यस पछि हरेक वर्ष देशका विभिन्न भूभागहरुमा यो रोग फैलिरहेको र सबै स्थानमा
नियन्त्रण कार्य पनि सम्पन्न भएको छ । नेपालमा हालसम्म यो रोग मानिसमा सरेको पुष्टी
भएको छैन ।

बर्ड फ्लु रोग पंछिहरुमा देखा पर्ने महामारी रोग हो । बर्ड फ्लु रोगबाट विशेष गरी कुखुरा, हाँस,
टर्की तथा जंगली पंछिहरु संक्रमित भएको पाइन्छ । अधिकांस जंगली चराहरु रोगको लक्षण
नदेखाइ रोग बाहकको रुपमा देखा परेको पाइन्छ ।

लक्षण तथा प्रभावका आधारमा बर्ड फ्लु रोग मुख्यगरी दुइ प्रकारका हुन्छन् ⁚ कम संक्रामक
खालको (LPAI) र अति संक्रामक खालको (HPAI) ।

अति घातक खालको बर्डफ्लु रोग विशेष गरी H5N1, H7N7 प्रजातिका विषाणुबाट हुने गर्दछ
। यस प्रकारको बर्डफ्लु रोग छोटो समयमा देखा पर्ने, पंछिहरुमा विरामी हुने दर र मृत्युदर उच्च
हुने हुन्छ । कम घातक खालको बर्डफ्लु रोग विशेष गरी H3N2, H9N2 प्रजातिका विषाणुबाट
हुने गर्दछ । यस प्रकारको बर्डफ्लु रोग कम घातक प्रकृतिको रोग हो । पंछिहरुको मृत्युदर
अत्यन्त न्युन हुन्छ ।

रोगका लक्षणहरु

अति घातक खालको बर्डफ्लु रोग लाग्दा धेरै कुखुराहरु एकै चोटि मर्ने (उच्च मृत्युदर), आँखा र
टाउको सुनिने, सिउर र लोती निलो हुने, खुट्टामा रक्तश्राव देखिने, श्वास फेर्न गाह्रो हुने, सिगान
बगिरहने, पक्षघात हुने, पातलो छेर्ने, दानापानी कम खाने एवं अण्डा उत्पादनमा कमी आउने,
जलजले अण्डा पार्ने हुन्छ । यस रोगका कतिपय लक्षणहरु कुखुरामा देखिने अन्य रोगहरु जस्तै
रानीखेत, कुखुराको हैजा आदिसंग मिल्न जाने हुँदा धेरै संख्यामा कुखुराहरुको मृत्यु भएमा
नजिकको पालिकाको पशु सेवा शाखा वा भेटेरीनरी अस्पतालमा तुरुन्त खबर गर्नु पर्दछ ।

रोग सर्ने तरिका

संक्रमित पन्छिको सुलीको माध्यमबाट अधिक मात्रामा विषाणुहरु वातावरणमा निस्कन्छन् ।
यसरी सुलीबाट निस्केका विषाणुबाट संक्रमित उपकरणहरु, दाना, पानी आदिसंगको प्रत्यक्ष
तथा अप्रत्यक्ष सम्पर्कबाट पंक्षीहरुबीच सर्ने गरेको पाइन्छ । त्यसैगरी बसाइ सरेर आउने जंगली
चराहरुले पनि यो रोग सार्ने गरेको पाइन्छ । संक्रमित पंक्षी तथा पंक्षीजन्य सामग्रीहरुको अवैध
ओसारपसारबाट पनि यो रोग सर्न सक्दछ ।

बर्डफ्लु रोगको विषाणु कुखुराको र्याल तथा सुलीमा ४ ० से तापक्रममा कम्तीमा ३५ दिनसम्म
बाँच्न सक्छ । विषाणु संक्रमित भाँडा, दाना, पानी, सुलीको माध्यमबाट यो रोग एउटा कुखुरा
फार्मबाट अर्को फार्ममा सर्ने गर्छ ।

रोगबाट बच्ने उपायहरु

 कुखुराको खोर र ह्याचरीहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्न गर्ने ।
 फार्म वरिपरि नियमति रुपमा चुन वा अन्य निसंक्रमणका औषधीहरु छर्ने ।
 फार्म भित्र पस्दा र निस्कदा साबुन पानीले राम्ररी हात र खुट्टा धुने ।
 मरेको कुखुरालाइ गहिरो खादल खनेर पुर्ने वा सुरक्षित साथ जलाउने ।
 संक्रमित पंक्षी तथा पंक्षीजन्य सामग्रीहरुको अवैध ओसारपसार नियन्त्रण गर्ने ।
 कुनै स्थानमा धेरै पंछीहरु विरामी वा मृत्यु भएको पाइएमा नजिकको पशु सेवा शाखामा
तुरुन्त जानकारी गराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!