मध्यपुर थिमि, २९ पुस २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकाको एघारौं नगर सभाको अधिवेशन आज सम्पन्न भएको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले नगरपालिकाको प्रस्तावित प्रशासकीय भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (DPR) स्वीकृत गरी तत्काल टेण्डर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
नगरसभा अधिबेशनले शिक्षा ऐन, २०७९ को दोश्रो संशोधन विधेयक २०८१ तथा सहकारी ऐन, २०७९ को पहिलो संशोधन विधेयक २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
सभाले चालु आ.व. २०८१/२०८२ को बजेट/कार्यक्रमहरु आवश्यकता र औचित्यका आधारमा संशोधन गर्नुका साथै आ.व. २०८२/ २०८३, २०८३/०८४ र २०८४/०८५ को राजस्व आय प्रक्षेपण गर्ने निर्णय गरेको छ।
मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्रको वस्ती विकासको सन्दर्भमा परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र नगरपालिकाबाट गठित प्राविधिक समितिबाट सम्भाव्यता देखिएको क्षेत्रहरुमा (कालाडोल क्षेत्र, बुढाथोकी गाँउ, कोलाफाँट, गांखु कुण्डोल, विसन्तकी, सिद्धिगणेश, राधेराधे) तत्काल वस्ती विकास योजना क्रमश लागु गर्ने र सम्भाव्यता नदेखिएको क्षेत्रहरुमा नक्शा पास फुकुवा गरी प्रचलित कानून बमोजिम त्यसको नियमित र अभिलेखिकरण गर्ने र साथै अन्य क्षेत्रहरुको हकमा प्राविधिक प्रतिवेदन तथा सम्भाव्यता अध्ययनको आधारमा बस्ती विकास योजना अगाडी बढाउने र सम्भाव्यता नरहेको स्थानमा नक्शा पास फुकुवा गरी प्रचलित कानून वमोजिम त्यसको नियमित र अभिलेखिकरण गर्ने निर्णय पनि नगरसभाले पारित गरेको छ।