एचपिभी खोप अभियान सफल बनाउन स्वास्थ्य मन्त्री पौडेलको आह्वान

काठमाडौँ, १० माघ २०८१ः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको खोप अभियान सफल बनाउन आव्हान गर्नुभएको छ।

मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्दै सरकारले यहि माघ २२ गतेदेखि फागुन १६ गतेसम्म गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियानमा सफल बनाउन आह्वान गर्नुभएको हो।

मन्त्री पौडेलले यो अभियानलाई सफल बनाउन सबैको सहभागिता जरुरत रहेको बताउनुभयो। यो अभियानलाई सफल बनाउन सङ्घीय, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा क्षेत्र, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सबैको सहभागिता हुनुपर्नेमा उहाँको जोड छ। यो खोप अभियानका लागि विद्यालयमा खोप केन्द्र तोकिएकोले लक्षित किशोरीले आआफ्नो विद्यालय वा नजिकको विद्यालय सम्पर्क गरी खोप लगाउन उहाँको अनुरोध छ।

स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले यो खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्कसँग लगाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत् निःशुल्क प्रदान गर्ने सबै खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै, औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुनाले यो खोप पनि अत्यन्तै सुरक्षित र प्रभावकारी छ।’

विभिन्न अध्ययनका अनुसार एचपिभी खोपको प्रभावकारीता शतप्रतिशतसम्म रहेको छ। खोपले किशोरीको महिनावारीलाई कुनै असर नगर्ने डा. गौतमले जानकारी दिनुभएको हो।

उहाँले भन्नुभयो, “एचपिभीले महिनावारीलाई कुनै असर गर्दैन। किशोरीमा महिनावारी हुने नियमित प्राकृतिक प्रक्रिया हो। त्यसैले एचपिभी खोप लगाउँदैमा किशोरीको महिनावारी छिटो सुरु हुने वा ढिलो सुरु हुने हुँदैन।”

एचपिभी खोप एक मात्रा लगाए पुग्छ। सरकारले आगमी वर्ष देखि कक्षा ६ का छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित खोप मार्फत मार्फत दिने निर्णय गरेको छ।

सरकारले यो अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मका १६ लाख भन्दा बढी किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!