काठमाडौं, १० माघ २०८१ः
रत्न काजि प्रजापति
नेपाल पोल्ट्री महासंघका प्रथम उपाध्यक्ष नारायणहरि खत्रीले अण्डा उत्पादक कृषक र व्यवसायीहरु संगठित भएका कारण अण्डाले राम्रो बजार पाएको बताउनु भएको छ।
काठमाडौमा आज सम्पन्न नेपाल लेयर्स कुखुरा पालक संघको दोस्रो साधारणसभालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्नु हु्दै प्रथम उपाध्यक्ष खत्रीले उक्त कुरा बताउनु भएको हो। उहाले संघले देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डाको बजारलाई आत्मनिर्भर बनाईराख्न सकेको बताए।

संघका अध्यक्ष बिनोद पोखरेलले साधारणसभामा आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुहुदै संघ स्थापना भएपछि दैनिकजसो बैठक र देशव्यापी दौडाहा अभियानमा लागेका कारण आज अण्डा उत्पादक किसानले लागत मूल्य पाएको बताउनुभयो । उहाँले भन्नुभयो “सबैको साथ र सहयोगका कारण आज हामीले अण्डालाई आत्मनिर्भर बनाउन सकेका छौं ।” राज्यले समयमा ध्यान नदिंदा धेरै कृषक पलायन भएको भन्दै उहाँले टिकेकाहरुले ऋण थप गरेर काम गर्नु परेको बताउनुभयो ।
सभालाई संबोधन गर्नु हुदै नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रविन पुरीले सरकारले भन्सार दरमा सम्बोधन गर्न सकेमा दानाको मूल्य घटाउन सकिने बताउनुभयो ।
नेपाल ह्याचरी उद्योग संघका उपाध्यक्ष राजेन्द्र लामिछाने र नेपाल अण्डा उत्पादक संघका पूर्ब अध्यक्ष त्रिलोचन कँडेलले सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गर्न नसकेका कारण धेरैको सम्पत्ति लिलामीमा जाने अवस्थामा पुगेको भन्दै संघको स्थापनाका कारण अहिले अण्डाले मूल्य पाएको बताउनुभयो । उहाँहरुले बैंकको चर्काे व्याज, दानाको कच्चा पदार्थ र औषधिको मूल्य बृद्धि लगायतका कारण ७५ प्रतिशत हाराहारी कृषक पलायन भएको बताउनुभयो । संघका उपाध्यक्ष सुनिलकुमार शाक्यले निरन्तर बजारीकरणमा लाग्न नसकेमा अण्डाले मूल्य नपाउने बताउनुभयो ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष बिनोद पोखरेलले, महासचिवको प्रतिवेदन महासचिव भेषराज अर्यालले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश चापागाईले प्रस्तुत गर्नुभएको थियो ।
संघका सचिव मदन पोखरेलले संघ स्थापना भएसँगै भौतिक र अनलाईन मार्फत दैनिक छलफल गरेर कृषकलाई उत्प्रेरणा गर्ने र उपभोक्तालाई अण्डाको महत्वबारे बुझाउन सकेका कारण अण्डाले बजार पाएको बताउनुभयो ।

कार्यक्रममा झापा जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरत चौलागाई, दाङ जिल्ला अण्डा उत्पादक संघका अध्यक्ष भरतमणि शर्मा, मकवानपुर कुखुरा व्यवसायी संघका पूर्व अध्यक्ष राजु अधिकारीलगायतले बोल्नु भएको थियो ।
नेपालका ठूलो संख्यामा लेयर्स कुखुरा पालन गर्दै आएका कृषक एवं व्यवसायीहरु संगठित भएर बि.सं. २०७९ असोज २८ गते नेपाल लेयर्स कुखुरा पालक संघको गठन भएको थियो।