भोलिको ट्राफिक तथा सुरक्षा व्यवस्थापन कस्तो हुनेछ?

काठमाडौँ, १४ चैत्र २०८१ः

नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । यसैगरी, सोही दिन पूर्व राजाका समर्थक पक्षधरले पनि प्रदर्शन गर्ने घोषणा गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त बनाइने बताइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले भोलि बिहान १० बजेदेखि जुलुस सुरु हुने जानकारी प्राप्त भए अनुसार सो अनुरुप नै ट्राफिक व्यवस्थापन गरिने बताउनुभयो। गिरीले भन्नुभयो, “दुई ठाउँमा विभिन्न ठाउँबाट र्‍यालीसहित आउने भन्ने जानकारी प्राप्त भएको छ। सम्भव भएसम्म सवारी साधन सञ्चालन हुन्छन्। मान्छेको भीड बढ्दै गए भने सार्वजनिक यातायातका साधनलाई अन्त बाटो पठाइनेछ।”

उहाँले कार्यक्रम अवधिभर यातायातका साधन अवरोध हुनसक्ने र तत्पश्चात् भने सवारी साधन खुला हुने भनाइ राख्नुभयो। यद्यपि, भोलिको अवस्था अनुसार व्यवस्थापन गरिने उहाँको भनाइ छ।

दुई हजार पाँच सय प्रहरी परिचालन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शन हुने भनेपछि सुरक्षा व्यवस्थापनका लागि पूर्ण तयारी गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले सुरक्षा व्यवस्थापनको लागि पूर्ण तयारी गरेका छौँ। एकीकृत रुपमा सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन, व्यवस्थापनका लागि समन्वय गरेका छौं। कुनै पनि अप्रिय घटना हुन नदिन, ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गको प्रयोग गर्ने लगायतका व्यवस्थापन हुन्छ।”  उहाँले विशेष गरी कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्थापन चुस्त एवम् प्रभावकारी बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरीसँग समन्वय गरिएको बताउनुभयो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रदर्शन हुने क्षेत्रका लागि प्रारम्भिक रुपमा दुई हजार पाँच सयको सङ्ख्यामा प्रहरी परिचालन हुने जानकारी दिनुभयो।

आचार्यले भन्नुभयो, “शुक्रबारका लागि सुरक्षा व्यवस्था मिलाएका छौं। छुट्टा–छुट्टै विरोध प्रदर्शन हुने भनिएकाले त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं।” उहाँले कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार प्रहरी परिचालन हुने भनाइ राख्नुभयो।

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका दल सङ्लग्न छन्।

मोर्चाले विभिन्न आठ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्‍यालीसहित प्रदर्शन गर्ने र भृकुटीमण्डपमा सभा गर्ने बताएको छ।

Source: gorakhapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!