प्रधानमन्त्री ओलीसँग भारतीय कृषि मन्त्री चौहानको शिष्टाचार भेट

काठमाडौँ, २७ चैत्र २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गर्नुभएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का कृषि मन्त्रीहरूको बैठकका लागि नेपाल आउनुभएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्य सुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले द्विपक्षीय सम्झौता र संयुक्त कार्यसमूहहरुलाई गतिका साथ अगाडि बढाउनुपर्ने र सानातिना अल्झनका मुद्दा छाडेर थाँती रहेका महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ गतिशील रुपमा काम गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले हालै थाइल्याण्डको बैंककमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्ताले दुई देशका बीचमा आशाजनक भविष्य कोरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग थाइल्याण्डमा भएको भेटवार्ताले विश्वासका वातावरण बनेकाले अब इतिहास वा भावनामा मात्रै नबगी आर्थिक विकासका लागि मिलेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले बद्लिँदो विश्व परिवेशलाई आत्मसात् गर्दै त्यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यान दिएर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वार्थका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबलगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!