नगरकोट भ्रमण वर्ष २०८२: दुई दिनमै एक लाख पर्यटक, पर्यटन व्यवसायी उत्साहित

नगरकोट, ३ वैशाख २०८२ –

वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ ले सुरुवातमै कीर्तिमानी उपलब्धि हासिल गरेको छ। उद्घाटनको दुई दिनभित्र नगरकोटमा एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकको आगमन भएको छ।

पर्यटन प्रवर्द्धन, स्थानीय आयस्रोत वृद्धि, रोजगारी सृजना र नगरकोटको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको भ्रमण वर्षलाई नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले भव्य समारोहबीच उद्घाटन गरेका थिए। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार वैशाख १ गते मात्र ५० हजारभन्दा बढी पर्यटक नगरकोट पुगेका थिए।

“भ्रमण वर्षको सुरुवातमै यति ठूलो संख्यामा पर्यटक आउनुले पर्यटन व्यवसायीलाई अत्यन्त उत्साहित बनाएको छ,” प्रमुख खत्रीले बताए। “गत चैतको अन्तिम दिनदेखि नै होटल र होमस्टेहरू भरिभराउ थिए।”

उद्घाटन समारोह स्थल बतासे डाँडामा ६० वटा स्टलमार्फत स्थानीय खानाका परिकार, हस्तकला र घरेलु उत्पादनहरूको प्रदर्शनी गरिएको छ। वैशाख २ गते इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दा तेस्रो दिन चर्चित गायक प्रकाश सपुत तथा स्थानीय सांस्कृतिक टोलीहरूले प्रस्तुति दिएका छन्। सांस्कृतिक कार्यक्रममा मात्रै २५ हजारभन्दा बढी पर्यटकको सहभागिता रहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए।

नगरप्रमुख खत्रीका अनुसार भ्रमण वर्ष अवधिभर चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले हरेक महिनामा कम्तीमा एउटा नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, वडा तहमा पनि विविध पर्यटकीय कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ।

नगरकोटका प्राकृतिक सौन्दर्यता, हिमाली दृश्य, सूर्योदय-सूर्यास्त अवलोकन, जातीय चाडपर्व, ऐतिहासिक सम्पदा तथा सांस्कृतिक विविधता झल्किने कार्यक्रमहरूमार्फत पर्यटकलाई आकर्षण गरिनेछ। भ्रमण वर्षलाई सफल बनाउन नगरकोट पुग्ने सडक स्तरोन्नति गरिनुका साथै काठमाडौं–नगरकोट सिधा बससेवा सुरु गरिएको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष तथा होटल व्यवसायी नवीन लामाका अनुसार भ्रमण वर्ष अवधिमा होटल र होमस्टेहरूले पर्यटकलाई १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छन्।

नगरकोट भ्रमण वर्षको प्रारम्भिक सफलताले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ। आयोजकहरूले वर्षभरिमा ११ लाख पर्यटक नगरकोट भित्र्याउने लक्ष्य लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!