नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईंचो, सात दिनमै डेढ लाखले गरे अवलोकन

भक्तपुर, ३ बैशाख २०८२ः

“नयाँ वर्ष, नयाँ सोच—युवाहरूका लागि प्रगतिको स्रोत” भन्ने नारासहित भक्तपुरमा सञ्चालन भइरहेको नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईंचो लागेको छ। महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार दर्शकले अवलोकन गरिसकेका छन्।

भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा चैत २८ गतेदेखि सुरु भएको महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले दिएका छन्।

११ दिनसम्म चल्ने भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/८२ मा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाडाकुडा, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।

अध्यक्ष महतका अनुसार, महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा प्रविधि, अटोमोबाइल, आधुनिक कृषि उपकरण, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको पनि प्रदर्शनी तथा बिक्री भइरहेको छ।

महोत्सवका संयोजक दीपक थापाले स्थानीय हस्तकला र कृषि उत्पादनलाई समेत प्राथमिकता दिइएको जनाए। साथै, साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नौकाविहार, खेलौना स्टल, रोटे पिङ, रेनजर र मारुती सर्कसजस्ता मनोरञ्जनात्मक गतिविधिहरूको व्यवस्था गरिएको छ।

महोत्सवमा दैनिक रूपमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, हास्यव्यङ्ग्य, फेसन शो, नृत्य तथा नृत्य प्रतियोगिता समेत आयोजना भइरहेको छ, जसले महोत्सवलाई थप आकर्षक बनाएको छ।

५० प्रतिशतसम्म छुट
महोत्सवमा बिक्रीका लागि राखिएका वस्तुहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिइएको छ। आयोजकका कोषाध्यक्ष प्रीतम मल्लका अनुसार, करीब पाँच लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रवेश शुल्क रु. ५० र रु. ८० निर्धारण गरिएको छ भने विद्यार्थीका लागि ५० प्रतिशत छुट र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

साथै, बैशाख १३ गते महोत्सव स्थलमै “भक्तपुर सांगीतिक साँझ–२०८२” को आयोजना हुनेछ, जहाँ चर्चित गायक-गायिकाहरूको विशेष प्रस्तुति रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!