सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लाग्न सक्ने : सूचना प्रविधिमन्त्री गुरुङ

काठमाडौं, ५ वैशाख २०८२ः

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिनुभएको छ।

शुक्रबार सञ्चारिका समूहको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामाजिक सञ्जालले नेपालको संविधान, ऐन र कानून मानेर दर्ता हुनुपर्ने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “जसले नेपालमा काम गर्छ उसले नेपालको संविधान मान्नुपर्छ, दर्ता हुनुपर्छ। होइन भने प्रतिबन्ध लगाइन्छ।”

उहाँका अनुसार सरकारले यसअघि तीन महिने र अहिले एक महिनाको सूचना जारी गरी दर्ता हुन आग्रह गरे पनि मेटा, गुगलजस्ता कम्पनीहरूले बेवास्ता गरिरहेका छन्। उहाँले सामाजिक सञ्जालमार्फत फेक आइडी बनाएर समाजमा विकृति, हिंसा र धार्मिक असहिष्णुताको प्रवर्द्धन भइरहेको भन्दै कडाइ गर्नुपर्ने बताए।

प्रेस स्वतन्त्रता खोस्न नभई नियमनका लागि विधेयक

मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन गर्न सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरिसकेको र सबै पक्षसँग छलफल गर्दै अघि बढाउने जानकारी दिनुभयो। उहाँको भनाइमा, “देशको स्वाधीनता, भौगोलिक अखण्डता र सामाजिक सद्भाव जोगाउन सोसल मिडियालाई नियमन गर्न आवश्यक छ, यो प्रेस स्वतन्त्रताविरुद्ध होइन।”

धार्मिक सहिष्णुतामा हमला भइरहेको आरोप

उहाँले नेपाल विविधतामा एकता भएको राष्ट्र भएकाले यसको सांस्कृतिक, धार्मिक र जातीय सद्भावलाई विदेशी शक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर कमजोर बनाउने प्रयास गरिरहेको आरोप समेत लगाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!