काठमाडौँ, ५ वैशाख २०८२ः
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी हाल जारी शिक्षक आन्दोलन र समाधानका सम्भाव्य विकल्पबारे छलफल गरेका छन्।
महासङ्घको आव्हानमा गत चैत २० गतेदेखि विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित गर्नुपर्ने लगायतका मागसहित शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। प्रधानमन्त्री ओलीले चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई वार्ता र संवादमार्फत समस्याको समाधान गर्न निर्देशन दिएका थिए।
सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकमार्फत संघीय संसदको अधिवेशन आह्वान गर्ने र विद्यालय शिक्षा विधेयक पारित गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरिसकेको छ। सो निर्णयअनुसार संसद बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि बोलाइएको हो।
सरकारले एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा, तथा विद्यालय भर्ना अभियानलाई ध्यानमा राख्दै शिक्षकहरूसँगको संवादलाई निरन्तरता दिइरहेको जनाएको छ। साथै, शिक्षक आन्दोलन फिर्ता गरी शिक्षण कार्यमा फर्किन आह्वान समेत गरेको छ।
प्रधानमन्त्रीसँगको छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।