देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ६ बैशाख २०८२ –

बालबालिकाको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले आज र भोलि देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १९ लाखलाई जुकाको औषधि खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत सञ्चालन हुने यस अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालभिटा वितरण र कुपोषण परीक्षण पनि समेटेको छ।

६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि वितरण गरिनेछ। कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।

कार्यक्रमको इतिहास
नेपालमा भिटामिन ‘ए’ कार्यक्रम पहिलोपटक सन् १९९३ (वि.सं. २०५०) मा आठ जिल्लाबाट सुरु गरिएको थियो भने सन् २००२ (वि.सं. २०५९) बाट देशव्यापी रूपमा लागू भएको हो। त्यस्तै, जुका औषधि कार्यक्रम सन् १९९९ मा १३ जिल्लाबाट सुरु भई सन् २०१० मा राष्ट्रिय स्तरमा विस्तार गरिएको हो। बालभिटा वितरण कार्यक्रम भने सन् २००७ देखि सुरु भएको हो।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।

भिटामिन ‘ए’ र जुकाको औषधिको महत्त्व
नेपालमा कुपोषण अझै पनि प्रमुख बालस्वास्थ्य समस्यामध्ये एक हो। पोषणको अभावले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्न सक्छ।

भिटामिन ‘ए’ले आँखालाई स्वस्थ राख्ने, रातमा देख्ने क्षमता बढाउने, र संक्रमणसँग लड्ने क्षमता वृद्धि गर्ने काम गर्छ। यसको कमीले आँखामा घाउ, दृष्टि गुम्ने समस्या निम्त्याउँछ। सरकारी तथ्याङ्कअनुसार नेपालमा दैनिक कम्तीमा एक बालबालिका अन्धोपनको सिकार हुने गरेका छन्।

त्यस्तै, जुका बालबालिकाको आँन्द्रामा घाउ बनाउने, पोषक तत्व चुस्ने, कुपोषण बढाउने, र सिकाइ क्षमतामा असर पार्ने प्रमुख कारक हो। सरसफाइको अभावमा जुका लाग्ने सम्भावना बढी हुन्छ।

स्वस्थ बालबालिका, सशक्त राष्ट्र निर्माणको आधार भएकाले सरकारले वर्षमा दुईपटक यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!