गोकर्णेश्वर नगरवासीलाई शहिद गंगालाल अस्पतालमा साढे २ लाखसम्मको उपचारमा छुट

गोकर्णेश्वर, ७ बैशाख २०८२ः

गोकर्णेश्वर नगरपालिकाका बासिन्दाले अब शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराउँदा साढे दुई लाख रुपैयाँसम्मको छुट पाउने भएका छन्। गोकर्णेश्वर नगरपालिका र गंगालाल अस्पतालबीच आइतबार सम्पन्न सम्झौता अनुसार नगरवासीलाई उपचारमा राहत प्रदान गरिनेछ।

सम्झौताअनुसार, आर्थिक रूपले विपन्न नागरिकका लागि १ लाख रुपैयाँ छुट, स्वास्थ्य बीमाबाट थप १ लाख र नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरिनेछ। नगरप्रमुख दीपक रिसालले सम्झौताले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

सम्झौता कार्यक्रममा उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता नारायण बहादुर सुवेदी, वडा अध्यक्षहरू नवराज लामा, नन्दलाल श्रेष्ठ, द्वारिका श्रेष्ठ, मधु तामाङ, मुरारी प्रसाद कुइकेल, केशव गुरुङ, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

नगरपालिका र अस्पतालबीचको सहकार्यले भविष्यमा पनि स्वास्थ्य क्षेत्रको पहुँच विस्तारमा टेवा पुर्‍याउने नगर प्रमुख रिसालको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!