भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक साँझ २०८२ कार्यक्रम हुने

भक्तपुर, ७ बैशाख २०८२ः

वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल प्रस्तुति रहने ‘दीप श्रेष्ठ सांगीतिक साँझ २०८२’ कार्यक्रम भक्तपुरमा आयोजना हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिइएको हो।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा कार्यक्रम बैशाख २० गते शनिवार सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने छ। यो कार्यक्रम नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको हो। कार्यक्रममा दीप श्रेष्ठले १२ देखि १५ वटासम्म कालजयी गीतहरु प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्। आयोजकहरूका अनुसार यो कार्यक्रम भक्तपुर जिल्लामा यस किसिमको पहिलो ठूलो एकल सांगीतिक प्रस्तुति हुनेछ।

कार्यक्रममा विभिन्न उद्यमी, व्यवसायी, पेशाकर्मी लगायत १००० देखि १२०० जनासम्म सहभागी हुने अनुमान गरिएको छ। सहभागी हुनका लागि रु. १०००, रु. १५०० र रु. २५०० का टिकट उपलब्ध हुनेछन्। कार्यक्रमस्थलमा विभिन्न उत्पादन र परिकारका स्टलहरू पनि राखिनेछ।

भक्तपुरमा परम्परागत सांस्कृतिक कार्यक्रमहरू भइरहे पनि ठूलो स्तरको संगीत कार्यक्रम कम हुने गरेको पृष्ठभूमिमा दीप श्रेष्ठको प्रस्तुतिले युवादेखि वृद्धसम्मका संगीत प्रेमीहरूलाई आकर्षित गर्ने विश्वास लिइएको छ। कार्यक्रम संयोजक रोशन धौभडेलले भक्तपुर सांगीतिक समाज अन्तर्गतका गायकहरूको पनि प्रस्तुति रहने जानकारी दिएका छन्। आयोजकहरूका अनुसार यस कार्यक्रममार्फत भक्तपुरमा संगीत क्षेत्रलाई व्यवसायिक बनाउन मद्दत पुग्नेछ।

दीप श्रेष्ठको प्रस्तुतिलाई नेपाली संगीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूले पनि साथ दिने कार्यक्रमको विशेषता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!