ललितपुर, बुङमती, ९ बैशाख २०८२:
बि. स. २०७२ मा आएको विनाशकारी भूकम्पले क्षति पुर्याएको बुङमतीस्थित ऐतिहासिक रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब ८ वर्षदेखि पुनर्निर्माणमा रहेको यो मन्दिर हाल पूरै स्वरूपमा देखिन थालेको छ।
शिखर शैलीमा निर्मित यो मन्दिर स्थानीय काठ तथा ढुंगा ईट्टाको प्रयोग गरी परम्परागत प्रविधिबाट निर्माण भइरहेको छ। सांस्कृतिक सम्पदाको संरक्षण र पुनःस्थापनाको दृष्टिले यो मन्दिर महत्वपूर्ण मानिन्छ।
रातो मछिन्द्रनाथलाई वर्षा र समृद्धिका देवता मानिन्छ, र उहाँको रथयात्रा उपत्यकाको सबैभन्दा लामो तथा भव्य जात्रामध्ये एक हो। मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि बुङमती क्षेत्रको सांस्कृतिक महत्व झनै उजागर हुने विश्वास गरिएको छ।

श्री रातो मछिन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यका अनुसार हाल मन्दिरको अन्तिम रूप दिने कार्य र परिसर व्यवस्थापन जस्ता कार्यहरू तीव्र गतिमा भइरहेका छन्।