काठमाडौं, ९ वैशाख २०८२ः
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेदेखि सुरु हुने निर्णय गरेको छ। यसअघि वैशाख ११ गतेदेखि सुरु हुने तय भएको परीक्षा १० दिन पछि सारेको हो।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बदलिँदो परिस्थितिका कारण परीक्षा सारिएको जानकारी दिनुभयो। “२०८२ वैशाख २१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको छ,” उहाँले बताउनुभयो, “यससम्बन्धी औपचारिक सूचना बोर्डको वेबसाइट तथा अन्य सञ्चारमाध्यममार्फत बुधबार सार्वजनिक गरिनेछ।”
शिक्षक आन्दोलनका कारण अन्योल
शिक्षक महासङ्घले चैत २० गतेदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि परीक्षा सञ्चालनमा अन्योल सिर्जना भएको थियो। सुरुमा बोर्डले निजामति कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि शिक्षकबिना परीक्षा गरिने निर्णय विवादास्पद बनेपछि त्यस निर्णयमा पुनर्विचार गरिएको हो।
प्रधानमन्त्रीको सुझावपछि निर्णय
आज साँझ राष्ट्रिय परीक्षा बोर्डको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेपछि प्रधानमन्त्रीको सुझावअनुसार परीक्षा सार्ने निर्णय गरिएको हो। त्यसअघि बिहान बसेको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिमार्फत परीक्षा गराउने निर्णय गरेको थियो।
पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान
यस वर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। परीक्षा सञ्चालनका लागि १,५९१ परीक्षा केन्द्र तोकिएको छ, जसमा जापानमा रहेको एक परीक्षा केन्द्र पनि समावेश छ। परीक्षा सुचारु गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, झन्डै २ हजार कर्मचारी, एक जना कार्यालय सहयोगी तथा करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ।