नेपालगञ्ज, ९ वैशाख २०८२ः
नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र, काठमाडौँको सहकार्यमा मङ्गलबारबाट सेवा सुरु गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार मङ्गलबार पहिलो दिन दुई जना बिरामीमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। योसँगै भेरी अस्पताल लुम्बिनी प्रदेशमै पहिलो मानव अङ्ग प्रत्यारोपण सेवा दिने अस्पताल बनेको छ।
डा. सुवेदीका अनुसार प्रत्यारोपण कार्यमा डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौँबाट आएको १४–१५ जनाको विशेषज्ञ टोली सहभागी थियो। त्यसमा भेरी अस्पतालका सर्जन डा. दीपेश गुप्ता, युरो सर्जन डा. अञ्जित फुयाँल, नेफ्रोलोजिस्ट डा. सौरभ हमाल र डा. पारस श्रेष्ठसहितका विशेषज्ञ चिकित्सकको टोली संलग्न थियो।
प्रत्यारोपण सेवा नियमित सञ्चालन हुने योजना
सूचना अधिकारी तथा इमर्जेन्सी विभाग प्रमुख डा. सङ्केत रिसालका अनुसार मिर्गौला प्रत्यारोपणको लागि नयाँ अपरेशन थिएटर, छुट्टाछुट्टै क्याबिन र चार शय्याको आइसियु वार्ड तयार गरिएको छ। अहिले प्रत्यारोपण केन्द्रको सहयोगमा सेवा सुरु गरिएको भए पनि केही समयपछि भेरी अस्पतालको आफ्नै चिकित्सक टोलीमार्फत सेवा नियमितरूपमा सञ्चालन गरिनेछ।
पहिलो दिन दुईजनामा सफल प्रत्यारोपण
प्रत्यारोपण गरिएका बिरामीहरूमा बाँसगढी नगरपालिका–८, बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका–२, महोत्तरीका ४० वर्षीय पुरुष रहेका छन्। दुवै बिरामीलाई उनकी श्रीमतीले मिर्गौला दान गरेकी हुन्। एक बिरामी भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएका थिए भने अर्का बिरामी काठमाडौँमा उपचाररत थिए।
बिहान १० बजेदेखि सुरु गरिएको प्रत्यारोपण कार्य बेलुकी ७ बजे सकिएको थियो। अस्पतालका अनुसार दुवै बिरामी र दाताको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
कानुनी प्रक्रिया र स्वीकृति समिति गठन
अस्पतालमा कानुनी प्रक्रिया सुनिश्चित गर्न चार सदस्यीय मानव अङ्ग प्रत्यारोपण स्वीकृति समिति गठन गरिएको छ। समिति संयोजक अस्पतालका एकजना फिजिसियन छन् भने सदस्यहरूमा कानुनी सल्लाहकार, जिल्ला प्रशासन कार्यालयका एकजना अधिकृतस्तरका कर्मचारी र अस्पतालकै एकजना अधिकृतस्तरका कर्मचारी रहेका छन्। मिर्गौला प्रत्यारोपण यसै समितिको सिफारिसपश्चात् मात्र सम्भव हुने बताइएको छ।