२०८२ कार्तिक १ गते रजत जयन्ती मनाउने
चितवन, ९ बैशाख २०८२ः
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, चितवन शाखाको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत अन्तर्क्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
शाखा अध्यक्ष शालिग्राम दवाडीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि संघका निबर्तमान अध्यक्ष पूर्णचन्द्र सापकोटा रहनुभएको थियो। उक्त कार्यक्रममा संघका बागमती प्रदेश इन्चार्ज तथा संघका केन्द्रीय सदस्य ईश्वरी प्रसाद आचार्य, पूर्व अध्यक्ष एवं सल्लाहकार नारायण प्रसाद सापकोटा, दिनेश कटेल र भुपेन्द्र कर्माचार्यजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा चितवन जिल्लाका ५५ जना भन्दा बढी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन संघका सचिव नारायण प्रसाद कँडेल बरदानले गर्नुभएको थियो।
उक्त अवसरमा संघको चितवन शाखाले आगामी २०८२ सालको कार्तिक १ गते रजत जयन्ती मनाउने निर्णयसमेत गरेको छ। साथै, अन्तरक्रिया सत्रमा पशु स्वास्थ्य शिविर सञ्चालन, विभिन्न पालिकाहरूमा डॅलिगेशन जाने, रेबिज खोप कार्यक्रम संचालन गर्ने तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि विविध तालिम सञ्चालन गर्ने जस्ता महत्वपूर्ण बिषयमा गहन छलफल गरिएको थियो।
संघले आगामी दिनहरूमा पशुपंक्षी औषधि क्षेत्रको थप विकास, व्यवसायीहरूको हकहित र पशु स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।