पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख २०८२ः

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता, पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको आज निधन भएको छ। केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उहाँको निधनको पुष्टि गरेका छन्।

प्रदीप नेपाल तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा सूचना तथा सञ्चारमन्त्रीको रूपमा कार्यरत हुनुहुन्थ्यो। साथै, उहाँले जलस्रोत तथा शिक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।

राजनीतिसँगै पत्रकारिता र साहित्यमा समेत उत्तिकै योगदान पुर्‍याउनु भएका नेपाल नवयुग, दृष्टि, छलफल र प्रकाश साप्ताहिकका सम्पादक रहनुभएको थियो। विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो। भूमिगत राजनीतिमा सक्रिय रहँदा उहाँ ‘सञ्जय थापा’ को नामले परिचित हुनुहुन्थ्यो।

नेपाल एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख र पार्टीका प्रवक्ताको भूमिकामा समेत रहेर सक्रिय राजनीतिक जीवन बिताउनुभएको थियो। उहाँको जन्म वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो।

राजनीति, पत्रकारिता र साहित्यमा समर्पित जीवन बिताएका प्रदीप नेपालको निधनले मुलुकले एक बहुआयामी व्यक्तित्व गुमाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!