✍ रामचन्द्र प्रजापति | भक्तपुर, २५ बैशाख २०८२ः
बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा मान्यता दिएको घोषणाको स्मरणमा यस वर्ष पनि २४ बैशाखमा ‘भाषा दिवस’ मनाइएको छ। सोही अवसरमा नेवाः देय् दबू ख्वप नगर समिति र नेपाल तामाङ घेदुङ जिल्ला समिति, भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर नगरपालिका–९ स्थित दतात्रयमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष कान्छा तामाङले अतीतमा नेपालीबाहेक अन्य भाषा बोल्दा अपमानित हुनुपरेको तर अहिले बागमती प्रदेशको कानुनले नेपालभाषा र तामाङ भाषाबाट सरकारी काम गर्न सकिने अधिकार सुनिश्चित गरेको बताए।
नेवाः देय् दबू ख्वप जिल्ला समितिका अध्यक्ष नरेश सुवालले भाषा जातिको पहिचान भएको उल्लेख गर्दै सरकारी कार्यालयमा नेपालभाषा प्रयोग गर्न अनुवादकको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।
ख्वप नगर समितिका उपाध्यक्ष रामचन्द्र प्रजापतिले प्राप्त भाषिक अधिकारको व्यवहारिक प्रयोग आवश्यक रहेको भन्दै, “यदि प्रयोग गरिएन भने त्यो अधिकार हराउन सक्छ,” भन्ने चेतावनी दिए। उनले भक्तपुरमा ९८ प्रतिशत नेपालभाषीको बसोबास रहेको उल्लेख गर्दै स्थानीय सरकारले नेपालभाषा माध्यमको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेवाः मिसा दबू ख्वप जिल्ला सदस्य सरस्वती प्रजापति र अन्य वक्ताहरूले पनि शुभकामना मन्तव्य दिएका थिए।