📍 मध्यपुर थिमि, २५ बैशाख २०८२ः
नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिको दोस्रो नगर सम्मेलनबाट विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ।
आज मध्यपुर थिमिको थिमि बैंक्वेटमा सम्पन्न सम्मेलनको बन्द सत्रबाट श्रेष्ठको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संविधानसभा सदस्य सत्यलाल मूलले जानकारी दिए।

नगर समितिमा नवनिर्वाचित उपाध्यक्षमा बिकेश श्रेष्ठ, जगतमाया प्रजापति र नरेश रञ्जित चयन भएका छन्। त्यसैगरी सचिवमा अधिवक्ता शिव सुन्दर श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति तथा कोषाध्यक्षमा रत्न केशरी प्रजापति निर्वाचित भएका हुन्। नवगठित समितिलाई पार्टीकी केन्द्रीय सदस्य एवं नगर इन्चार्ज प्रतिमा श्रेष्ठले सपथ ग्रहण गराएकी थिइन्।


सम्मेलनको उद्घाटन सत्रलाई संबोधन गर्नु हुदै पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क. दिलीप प्रजापति भिष्मले अधिबेशनको क्रममा प्रत्येक वडामा जनउभार देखिएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन लक्षित रणनीतिमा अघि बढ्नुपर्ने धारणा राख्दै सोहि अनुरुप तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठले नेताकार्यकर्ताले जनप्रतिनिधि र जनतालाई जोड्ने दायित्व निभाउनुपर्ने बताए। अर्का केन्द्रीय सदस्य तथा स्कूलिङ विभागका सह–इन्चार्ज डीपी ढकालले पार्टी संसदीय अभ्यासमा रहेकाले अबको लक्ष्य निर्वाचन जितेर जनताको सेवा गर्ने शासन सत्ता स्थापित गर्नु भएको बताए।
मध्यपुर थिमि नगर इन्चार्ज तथा बागमति प्रदेश सभाका पुर्ब सदस्य प्रतिमा श्रेष्ठले मध्यपुर थिमिको सांगठनिक अवस्थाको बिस्तृत विवरण प्रस्तुत गरिन्। वाइसीएल नेपालका इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले, “अरू दिन माओवादी चाहिने, तर भोट हाल्ने बेला बिर्सने प्रवृत्तिलाई बदल्न स्थानीय नेताकार्यकर्ताले भूमिका खेल्नुपर्छ,” भने।
कार्यक्रममा भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासुले नगर अध्यक्ष नै उपमेयर रहेका कारण पार्टी र जनताले मध्यपुर थिमिमाथि उच्च अपेक्षा राखेको भन्दै उदाहरणीय कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए।
सम्मेलनमा संविधानसभा सदस्य उमा कपाली, प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ, प्रदेश समिति सदस्य बालकृष्ण दुगु लगायतको आतिथ्यता रहेको थियो।