📍 भक्तपुर, २५ वैशाख २०८२ः
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ ताथलीमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।
च्यामासिंहबाट नालातर्फ जाँदै गरेको बा.९१ प.८४१२ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१४ प.५०४३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। सोही क्रममा नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा.प्र.०२–०३६ प.५३२७ नम्बरको अर्को मोटरसाइकल अनियन्त्रित भई स्कुटरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक, चाँगुनारायण नगरपालिका–९ सुडाल निवासी १७ वर्षीय रिजन फुयाजु गम्भीर घाइते भएका थिए। उनलाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
मोटरसाइकल बा.९१ प.८४१२ का चालक भारत घर भई हाल काभ्रेपलाञ्चोकको बनेपामा बसोबास गर्दै आएका २४ वर्षीय ईजार आलम र सबै सवारीसाधनलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी दुर्घटनामा संलग्न अर्को मोटरसाइकल चालक नुवाकोटको शिवपुरी गाउँपालिका–२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ४० वर्षीय बिरे तामाङ घाइते भएका छन्। उनको ख्वप अस्पताल, च्यामासिंहमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।