📍 चाँगुनारायण, २१ वैशाख २०८२ः
चाँगुनारायण नगरपालिका पशुपन्छी विकास शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअन्तर्गत कृषक सम्मान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालयले बैशाख २१ गते सार्वजनिक सूचना जारी गर्दै कृषि तथा पशुपालन क्षेत्रमा क्रियाशील कृषक, समूह, समिति, फर्म तथा कृषि/बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ। आवेदन दिनेले “चाँगुनारायण नगरपालिकाको पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१” अन्तर्गत अनुसूची १८ अनुसारको ढाँचामा निवेदन दिनु पर्नेछ भने, अनुसूची १९ अनुसारको विवरण पनि पेश गर्नुपर्नेछ।
कृषक सम्मान कार्यक्रममा विभिन्न सात विधामा उत्कृष्ट ठहरिने कृषक तथा संस्थाहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ। प्रत्येक विधामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेहरूलाई क्रमशः रु १०,०००, रु ५,०००, रु ३,००० र रु १,००० को पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार वितरण गरिने सात विधाहरू यसप्रकार छन्:
१. व्यावसायिक भैँसी पालन फार्म
२. व्यावसायिक गाई पालन फार्म
३. व्यावसायिक बाख्रा/भेडा पालन फार्म
४. व्यावसायिक कुखुरा, कालिज तथा अन्य पन्छी पालन फार्म
५. कृषि/बहुउद्देश्यीय सहकारी संस्था
६. दूध उत्पादन, संकलन तथा प्रशोधन केन्द्र
७. घाँस खेती
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईंद्वारा हस्ताक्षरित सूचनामा कृषक सम्मान कार्यक्रमले कृषकहरूमा प्रतिस्पर्धा, प्रोत्साहन र नवप्रवर्तनको भावना जागृत हुने अपेक्षा गरिएको उल्लेख छ।
