काठमाडौं, २५ बैशाख २०८२ः
रत्न काजि प्रजापति
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ केन्द्रीय समितिको अध्यक्षमा रितेश रिमाल निर्वाचित भएको एक वर्ष नाघिसकेको छ। २०८० पुस २४ र २५ गते चितवनमा सम्पन्न १४ औ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएका रिमालले आफ्नो केन्द्रिय समितिले यी समयमा गरेका कार्यहरुको फेहरिस्त सार्बजनिक गरेको छ।
केन्द्रीय अध्यक्ष रितेश रिमालका अनुसार उनको नेतृत्वमा संघले पशुपंक्षी औषधी व्यवसायीहरूका हकहित र समस्या समाधानका लागि विभिन्न महत्त्वपूर्ण पहलहरू गरेको छ।
पशुपंक्षी औषधी व्यवसायी संघले औषधी व्यवस्था विभाग र पशु सेवा विभागसँग व्यवसायीहरूले भोग्दै आएका समस्या समाधानका लागि पटक–पटक छलफल गरेको छ। व्यवसायीको पसल दर्ता र नविकरणमा देखिएका अप्ठ्याराहरू हटाउन संघले स्वयं विभागमा गई सहजीकरणसमेत गरेको छ।

पशु औषधी व्यवसायी तालिम परीक्षामा देखिएको जटिलता हटाउनेतर्फ पनि संघले सहजीकरण गरी सकारात्मक प्रभाव पारेको छ। यस्तै, दर्ता भएका, नभएका तथा प्रतिबन्धित औषधीहरूको स्पष्ट सूची तयार गर्न संघले विभागसँग सहयोगको अपेक्षा राखे पनि अपेक्षित सहयोग नपाएको भन्दै संघ आफैंले प्रयास जारी राखेको जनाएको छ।
संघले नेपाल उद्योग वाणिज्य महासंघको संयन्त्र प्रयोग गर्दै नीति निर्माण तहमा व्यवसायीका समस्या समाधानको पहल समेत गरेको छ। साथै, होटल, बीमा कम्पनी र बैंकसहित करिब ६ वटा संस्थासँग सम्झौता गरेर व्यवसायीहरूलाई सहुलियत प्रदान गरिएको संघले जनाएको छ।
संघका अनुसार, महासंघमा आवद्ध १३० वटा बस्तुगत संघहरूमध्ये नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ अग्रणी स्थानमा रहेको छ। संघका प्रतिनिधिहरू औषधी व्यवस्था विभाग र पशु सेवा विभागले आयोजना गरेका १०० भन्दा बढी कार्यक्रमहरूमा सहभागी भएका छन्। विभागका नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रमहरूमा संघको उपस्थिति अनिवार्यजस्तै बनिसकेको संघको दाबी छ।
प्रदेश र जिल्ला समितिहरूले सञ्चालन गरेका कार्यक्रमहरूमा समेत केन्द्रीय नेतृत्वको उपस्थिति रहेको र ती समितिहरूलाई सम्बन्धित तहका सरकारी निकायहरूसँग सहकार्य गर्न निर्देशन दिइएको अध्यक्ष रिमालले जानकारी दिए।
संघले नेपाल औषधी व्यवसायी संघ (NCDA), नेपाल भेटेरिनरी एशोसिएसन (NVA), नेभ्ला, नेल्टा र नेपाल पशुपंक्षी औषधी पैठारीकर्ता संघका प्रतिनिधिलाई संघको सल्लाहकारमा नियुक्त गर्दै संस्था समावेशी र समन्वययुक्त बनाएको छ।
डिजिटलीकरणको नीतिअनुसार संघको आधिकारिक वेबसाइट तयार भइसकेको छ भने व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि व्यवसायिक पुनर्ताजगी तालिम छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ।
अध्यक्ष रिमालका अनुसार, “संघले व्यवसायीका हकहितका विषयमा स्पष्ट दृष्टिकोण राख्दै सरकारी तहसम्म आवाज उठाउँदै आएको छ। अब आगामी वर्षलाई नीति, प्रविधि र सहकार्यमा आधारित गरी अघि बढाउने योजनामा छौं।”
