मध्यपुर थिमि, २६ वैशाख २०८२ः
ऐतिहासिक कमल पोखरी (पलेस्वाँ पुखु) को स्वरूप बिग्रिने भन्दै त्यस परिसरमा निर्माण गर्न लागिएको महादेव मन्दिर विरुद्ध बोदेवासीहरूले विरोधसभा गरेका छन्।’सम्पूर्ण न्यायप्रेमी बोदेवासीहरू’ को आयोजनामा भएको सभामा निबर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले स्पष्ट रूपमा मन्दिर निर्माणको आवश्यकता माथि प्रश्न उठाए।
सभामा सहभागीहरुले पोखरीको मौलिक स्वरूप र पहिचान बिग्रने भन्दै मन्दिर निर्माण तत्काल रोक्न माग गरेका हुन्।

विरोधसभामा सहभागी मध्यपुर थिमि नगरपालिकाका निबर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले पलेस्वाँ पुखु जस्तो ऐतिहासिक स्थलमा नयाँ संरचना आवश्यक नरहेको स्पष्ट धारणा राखे। श्रेष्ठले भने, “ ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय तथा पर्यटकिय महत्व बोकेको यो स्थानमा मन्दिर जस्तो संरचना थपेर यसको मौलिकता बिगार्नु हुँदैन।”
उक्त पोखरी कित्ताकाट गरी व्यक्तिगत स्वामित्वमा गइसकेकोमा स्थानीयबासी तथा स्थानिय सरकारको सक्रियताले फेरि सार्वजनिक सम्पत्ति बनाइएको थियो। हाल यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनिसकेको छ। पक्षी अवलोकनका लागि समेत उपयुक्त बनेको यो पोखरीमा साईबेरियाबाट चरा समेत आउन थालेको श्रेष्ठले जानकारी दिए।

उनले अदालतमा चलिरहेको मुद्दामा उल्लेख भएको एउटा लाइनलाई आधार बनाएर पोखरीको स्वरूप परिवर्तन गर्न खोजिएको प्रति आपत्ति जनाउँदै थपे, “मुद्दा लड्ने बेलामा एउटा वाक्य उल्लेख भएको आधारमा संरचना फेरबदल गर्नु कानुनी, सामाजिक र नैतिक दृष्टिले पनि गलत हो। पोखरी, पोखरीकै रूपमा रहनु पर्छ।”

विरोधमा उत्रिएका बोदेवासीहरूको भनाइमा, पोखरीलाई पूर्ववत् अवस्थामा राख्दै यसको संरक्षणमा जोड दिनुपर्ने हो, नकि नयाँ संरचना बनाएर पहिचान नै मेटाउने प्रयास गर्नु। उनीहरूका अनुसार, अदालतमा मुद्दा चलेको बेला ‘यहाँ मन्दिर थियो’ भन्ने उल्लेख भएको आधारमा मन्दिर बनाउने निर्णय पूर्णतः अनुचित छ।

विरोधसभामा स्थानीय युवादेखि वृद्धसम्मको उल्लेख्य उपस्थिति रहेको थियो। सभाले पोखरीको संरक्षण र मन्दिर निर्माण रोक्न स्थानीय सरकारलाई कडा सन्देश दिएको छ।
