दार्चुला अस्पतालमा रेबिज विरुद्धको खोप अभाव, बिरामी खोप नलगाई फर्किन बाध्य

दार्चुला, २७ बैखाख २०८२ः

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव हुँदा उपचारका लागि आएका बिरामी खोप नलगाई फर्किन बाध्य भएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध गराउन नसक्दा अस्पतालमा एक सातादेखि रेबिज खोपको चरम अभाव देखिएको हो।

जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टका अनुसार जंगली तथा घरपालुवा जनावरले टोकेपछि लगाइने रेबिज खोप नहुँदा बिरामीहरू अन्यत्र जानुपर्ने बाध्यता आएको छ। “खोप अभावका कारण सेवाग्राहीलाई जानकारी दिइसकिएको छ,” उनले बताए।

रेबिजविरुद्धको खोप सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको भए पनि आपूर्तिमा समस्या आएपछि हाल जिल्ला अस्पतालमा खोप छैन। अस्पतालका प्रमुख डा. संजीव श्रेष्ठका अनुसार बिरामीले अन्यत्रबाट (जस्तै भारतीय बजार) खोप खरिद गरेर ल्याएमा अस्पतालले लगाइदिने व्यवस्था गरिएको छ।

अस्पतालको तथ्यांक अनुसार चालु बैशाख महिनामा हालसम्म ३६ जनाले रेबिज खोप लगाएका थिए। तर हाल खोप अभावका कारण थप सेवाग्राही समस्यामा परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागबाट आपूर्ति कम भएकाले प्रदेश आपूर्ति केन्द्रमा समेत खोपको अभाव देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!