ललितपुरमा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सुरु, उपराष्ट्रपतिबाट उद्घाटन

ललितपुर, २७ वैशाख २०८२ः

नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार ललितपुरमा सुरु भएको छ। समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको हो।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत विभिन्न देशका विशिष्ट व्यक्तित्व र पत्रकारहरूको सहभागिता रहेको छ। नेपाल प्रेस युनियनका अध्यक्ष बादल लम्सालका अनुसार, समिटमा विभिन्न मुलुकका पत्रकार, सञ्चार विज्ञ र विश्लेषकहरूले सम्बोधन गर्ने क्रम जारी छ।

तीन चरणमा सञ्चालन हुने यो मिडिया समिट काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्म वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

दक्षिण एसियाली पत्रकारिता र प्रविधिका चुनौती–अवसरमाथि केन्द्रित

समिटमा विश्व परिवेशमा प्रविधिले ल्याएका अवसर र चुनौती, दक्षिण एसियाली पत्रकारितामा देखिएका समस्या र प्रभावबारे विभिन्न ६ देशका विषय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने छन्। नेपाली पत्रकारितामा पत्रकारहरूले भोगेका चुनौती, अवसर, र सुधारका उपायहरूमाथि पनि समग्र विश्लेषण हुने युनियनले जनाएको छ।

जलवायु परिवर्तन र पत्रकारिताको भूमिका, लोकतन्त्र र सञ्चारको सम्बन्ध, तथा दक्षिण एशियाली सन्दर्भमा मिडिया स्वतन्त्रता जस्ता विषयमा पनि विशेष छलफल गरिने कार्यक्रम रहेको छ।

डा. हरि शर्माबाट कार्यपत्र प्रस्तुत
उद्घाटन सत्रपछि ‘राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिताको कति नजिक, को कति टाढा?’ भन्ने विषयमा पहिलो प्रस्तुति भयो। कार्यपत्र डा. हरि शर्माले प्रस्तुत गर्नुभएको थियो।

साथै, छलफल सत्रमा दिलेन्द्र बडु, पार्वत गुरुङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ (विदेशी विशेषज्ञ), र पत्रकार शिव गाउँले वक्ताका रूपमा सहभागी थिए।

लोमान्थाङ घोषणा पत्र जारी गरिने
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलका अनुसार, समिटको अन्तिम दिन मुस्ताङको लोमान्थाङमा विशेष सत्र हुनेछ, जसमा ‘लोमान्थाङ घोषणा पत्र’ जारी गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!