मध्यपुर थिमि, २७ वैशाख २०८२ः
थिमिका नायोपमा, साहित्यकार श्यामकाजी श्रेष्ठद्वारा लिखित दोस्रो पुस्तक “ऐतिहासिक नगरी थिमि : एक परिचय” को शनिबार एक विशेष समारोहबीच विमोचन गरिएको छ।

मध्यपुर करोत एकेडेमी, बप्पामा आयोजित कार्यक्रममा विविध क्षेत्रका स्रष्टा, स्थानीय अगुवा, शिक्षा क्षेत्रका प्रतिनिधि तथा थिमीप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पुस्तकमा मध्यपुर थिमिको इतिहास, संस्कृति, परम्परा, भाषा, वास्तुकला र सामाजिक जीवनशैलीको परिचयात्मक विवरण समेटिएको छ।

मध्यपुर प्रवर्द्धन समाजले आयोजना गरेको कार्यक्रममा संस्कृतिबिद गणेशराम लाछि, धर्म सुन्दर बज्राचार्य तथा मध्यपुर थिमि नगरपालिकाका निबर्तमान प्रमुख मदन सुन्दर श्रेष्ठले थिमिको सांस्कृतिक पहिचान जोगाउन यस्ता दस्तावेजी प्रयासहरू महत्वपूर्ण भएको उल्लेख गरे।
लेखक श्रेष्ठले थिमिका बारेमा नयाँ पुस्तामा चेतना फैलाउने उद्देश्यले पुस्तक लेखिएको बताए। यो पुस्तक लेखकको दोस्रो कृति हो।