भक्तपुर, २८ बैशाख २०८२ः
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, जगातीस्थित चेकप्वाइन्टमा आइतबार विहान भन्सार छली गरी ल्याइएका कपडा र धाराको पार्टपुर्जासहितको ट्रक नियन्त्रणमा लिइएको छ।
साँगाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ७६० नम्बरको सेतो टाटा ट्रक चेकजाँच गर्ने क्रममा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले परालको भुसमुनी लुकाइछिपाइ ल्याइएका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य ७२ लाख रुपैयाँ बराबर रहेको छ। ती सामग्रीहरूमध्ये मुख्यरूपमा कपडाका विभिन्न प्रकार र धाराको पार्टपुर्जाहरू रहेका छन्।

बरामद सामग्रीहरूमा निम्न समाग्रीहरू समावेश छन्:
१. कुर्ता सुरुवाल – ३,८८७ थान
२. पाइन्टको कपडा – ३२ रोल
३. सर्ट – ३५६ पिस
४. सर्टको कपडा – २८० रोल
५. ब्लाउज – १,८७५ पिस
६. पर्दाको कपडा – ९९ रोल
७. साडी – १५९ पिस
८. धाराको पार्टपुर्जा – ३९८ पिस
साथै, ट्रक र चालक दोलखा कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय लक्ष्मण थामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।