जनकपुर, २९ बैशाख २०८२ः
रत्न काजि प्रजापति
नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशको अध्यक्षमा डा. दिनेश कुमार तिवारी निर्वाचित भएका छन्। जनकपुरमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले तिवारीको नेतृत्वमा ११ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।

कार्यसमितिमा उपाध्यक्षमा डा. पवन कुमार झा, सचिवमा डा. सुवास कुमार सिंह, सह–सचिवमा डा. सुदिप शर्मा र कोषाध्यक्षमा डा. सुवाष झा चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा डा. विशाल यादव, डा. जितेन्द्र कुमार यादव, डा. रवि यादव, डा. श्रीकृष्ण शाह, डा. अमर कुमार शाह र डा. मनिष झा रहेका छन्।
नव-निर्वाचित अध्यक्ष डा. तिवारीले मधेश प्रदेशमा पशु स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने तथा भेटेरिनरी व्यवसायमा संलग्न चिकित्सकहरूको हकहितका लागि कार्य गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले पेशागत मर्यादा, नीति निर्माणमा सहभागिता र क्षेत्रीय समन्वयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना पनि सार्वजनिक गरे।
नेपाल भेटेरिनरी एशोसिएसनले पशु चिकित्सकहरूको व्यावसायिक उत्थान तथा हकहितमा काम गर्दै आएको छ। मधेश प्रदेशस्तरीय यो नयाँ कार्यसमितिसँगै प्रदेशमा भेटेरिनरी क्षेत्रमा थप क्रियाशीलता र सुधार आउने अपेक्षा गरिएको छ।