काठमाडौँ, ३० बैशाख २०८२:
वैदेशिक रोजगारीका लागि आयरल्याण्ड र युके पठाइदिन्छु भन्दै ५१ लाख ९० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ का २१ वर्षीय ललित बोहरा रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाउने भन्दै लामो समयसम्म झुक्याई सम्पर्कविहीन भएका” उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा साउदले तीन जनालाई आयरल्याण्ड पठाउने भन्दै ४१ लाख ९० हजार रुपैयाँ लिएको र बोहराले एक जनालाई युके पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
उनीहरू उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। थप अनुसन्धान र कारबाहीको लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।