काठमाडौं, ३१ वैशाख २०८२ः
रत्न काजि प्रजापति
नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियाबीच नेपालमै पशु औषधि उत्पादनका लागि प्राविधिक सहकार्य (Technical Collaboration) सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

काठमाडौं स्थित होटल एभरेस्टमा आयोजित समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका सह-सचिव डा. सलिना मानन्धरको उपस्थितिमा केपीएलका अध्यक्ष हेमराज बडाल (ऋषि) र केबीएनपी कोरियाका प्रमुख कार्यकारी अधिकृत हानी स्वङगबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
यस सम्झौतासँगै केपीएलले केबीएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गर्दै नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्नेछ। यसले आयात प्रतिस्थापन गर्दै नेपाली किसानलाई सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने विश्वास लिइएको छ।

सम्झौताबारे जानकारी दिँदै केपीएलका प्राविधिक प्रमुख विवेक सिंह महतले सन् २०२५ जनवरी ८ मा कम्पनीको क्वालिटी अडिट सफलतापूर्वक सम्पन्न भएको र त्यसपछि सहकार्य औपचारिक बनेको बताए।
अध्यक्ष हेमराज बडाल (ऋषि) ले अन्तर्राष्ट्रिय स्तरको कम्पनीसँगको सहकार्यलाई गौरवको विषय बताउँदै यसले नेपालको पशु स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे। “यो सहकार्यले नेपाललाई पशु औषधिमा आत्मनिर्भर बनाउँदै निर्यातमुखी उत्पादनतर्फ उन्मुख गराउनेछ,” उनले भने।

त्यसैगरी, केबीएनपी कोरियाका प्रमुख कार्यकारी अधिकृत हानी स्वङगले नेपालमा पशु औषधिको विशाल सम्भावना देखिएको उल्लेख गर्दै, “हामी केपीएलसँगको सहकार्यबाट उत्साहित छौं। हाम्रो प्राविधिक ज्ञान र केपीएलको उत्पादन तथा बजार व्यवस्थापन क्षमताको संयोजनले उत्कृष्ट नतिजा दिनेछ,” भने।
स्थानीय उत्पादन, अन्तर्राष्ट्रिय साझेदारी
काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–७ मा अवस्थित केपीएलले पशु औषधि र आहार पूरक उत्पादन गर्दै आइरहेको छ। हालसम्म कम्पनीले ७० वटा एलोपेथिक औषधिको बजार अनुमति र ४० वटा उत्पादन अनुमति पाइसकेको छ। यस्तै, कम्पनीका २६ वटा ब्राण्डमार्फत विभिन्न फिड सप्लिमेन्ट तथा औषधीहरु बजारमा उपलब्ध छन्।

सन् २०२१ नोभेम्बरदेखि फिड सप्लिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले सन् २०२४ अगस्टदेखि व्यावसायिक रूपमा औषधि उत्पादन थालेको हो। कम्पनीले हालै सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारीसमेत गरिरहेको छ।
केबीएनपी कोरियाको परिचय
KBNP Inc. दक्षिण कोरियाको एक अग्रणी पशु स्वास्थ्य कम्पनी हो, जसले पशु औषधि, खोप, पोषण पूरकहरू, र पशुपालनसम्बन्धी अन्य उत्पादनहरू विकास, उत्पादन र वितरण गर्दछ। कम्पनीले पशु स्वास्थ्य र खाद्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले विश्वव्यापी रूपमा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित छ।
KBNP Inc. ले पशु स्वास्थ्य सेवा क्षेत्रमा उच्च गुणस्तरका उत्पादनहरू प्रदान गर्दै आएको छ, जसले पशुपालन उद्योगमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ, जसले पशु स्वास्थ्य सेवा क्षेत्रमा विश्वसनीयता हासिल गरेको छ।
नेपालको कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेड (KKPL) सँगको प्राविधिक सहकार्य सम्झौता KBNP Inc. को अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने रणनीतिक कदमको एक हिस्सा हो। यस सहकार्यले नेपाली पशुपालन उद्योगमा प्रविधि हस्तान्तरण, उत्पादन सुधार, र अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।