मध्यपुर थिमि, ३१ वैशाख २०८२ः
मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगर कार्यपालिकाको ३६औँ बैठक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट निर्माणका लागि सरोकारवालासँग समन्वय गरी मस्यौदा तयार गर्ने निर्णय गरेको छ।
नगर प्रवक्ता कृष्णहरी आचार्यका अनुसार बैठकले नगरभित्र विगतमा रोक्का गरिएका क्षेत्रमा घर नक्शा नियमित तथा अभिलेखिकरण गर्ने विषयमा पनि महत्वपूर्ण निर्णय लिएको छ। गोरखापत्रमा पूर्वप्रकाशित सूचनाको आधारमा नगरभित्र भौतिक पूर्वाधार विकास तथा निर्माणसम्बन्धी विनियमावलीको विनियम ५६ अनुसार मिति २०८२ साल मंसिर ३० गतेभित्र eBPS प्रणालीमार्फत घर नक्शा अभिलेखिकरण गर्नुपर्ने छ। साथै, निर्माण सम्पन्न प्रमाणपत्रका लागि यस विषयमा मिति २०८२ जेठ १ गते पुनः गोरखापत्रमा सूचना प्रकाशित गरिनेछ।
त्यस्तै, नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको आधिकारिक लोगो पनि बैठकले स्वीकृत गरेको छ।
नगर कार्यपालिकाको यस बैठकबाट गरिएका निर्णयहरू सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिएको हो।
