काठमाडौँ, ३१ वैशाख २०८२ः
नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन, हिमाली वातावरण र मानव जातिको भविष्यसँग जोडिएका गम्भीर विषयमा बृहत छलफल गर्ने उद्देश्यले अघि बढाइएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुधबार काठमाडौँमा आयोजित कार्यशालामा यस्तो जानकारी दिनुभएको हो।
“जलवायु परिवर्तन कुनै एक देशको समस्या होइन, यो विश्वव्यापी चुनौती हो,” मन्त्री राणाले भनिन्, “नेपालले यस साझा समस्यासँग जुध्नका लागि ‘सगरमाथा संवाद’ जस्तो अन्तर्राष्ट्रिय फोरम निर्माण गरेको हो, जसमा सबैको सहकार्य आवश्यक हुन्छ।”
नेपालजस्ता हिमाली मुलुकहरू जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित भइरहेका सन्दर्भमा मन्त्री राणाले हालैका वर्षहरूमा नेपालले भोगिरहेको तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, हिमताल विस्फोट, डढेलो लगायतका उदाहरण प्रस्तुत गर्दै सगरमाथा संवादले यी समस्याको समाधान खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सम्मेलन नेपालका लागि मात्र नभई सम्पूर्ण क्षेत्र र विश्वका लागि पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “यो सम्मेलन जलवायु न्यायको सवालमा नेपालको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा बुलन्द बनाउने माध्यम हुनेछ।”
साथै, मन्त्री राणाले नेपालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू गरेको, सम्बन्धित नीति तथा रणनीति कार्यान्वयन गरिरहेको र पेरिस सम्झौताको पालना गर्न प्रतिवद्ध रहेको जानकारी पनि दिनुभयो। हरित ऊर्जा प्रवर्द्धन, विद्युतीय सवारी प्रयोग, सामुदायिक वन विस्तार र जलाशय तथा प्राकृतिक सम्पदाको संरक्षणजस्ता सरकारी प्राथमिकता कार्यक्रमको चर्चा गर्दै उहाँले नेपालको प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।
आगामी शुक्रबारदेखि काठमाडौँमा सुरु हुने सगरमाथा संवादले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा बहस र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।