मध्यपुर थिमी, १ जेठ २०८२ः
मध्यपुर थिमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र बिना नक्शा पास निर्माण भएका तथा नक्शा पास गरे पनि तोकिएको संरचनाबाट हेरफेर गरी निर्माण गरिएका घरहरूलाई नियमित गर्ने प्रक्रिया अघि बढाएको छ। यस प्रयोजनका लागि अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै नगरपालिकाले सम्पूर्ण घरधनीहरूलाई २०८२ कार्तिक ३० गतेभित्र eBPS प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ।
नगरपालिकाका अनुसार यो कार्य मिति २०७७ साल फाल्गुन १७ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनालाई निरन्तरता दिँदै तथा नगरसभाको २०८१ साल माघ २९ गतेको निर्णयको आधारमा अगाडि बढाइएको हो। हाल कार्यान्वयनमा रहेको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ को दोस्रो संशोधन (२०७९) अन्तर्गत विनियम ५६ अनुसार सूचना जारी गरिएको हो।
नगर कार्यपालिकाको २०८२ साल बैशाख ३१ गतेको निर्णयअनुसार घरधनीहरूले घर नक्शा नियमित गर्न, अभिलेखिकरण गर्न र निर्माण सम्पन्न प्रमाणपत्र लिनुपर्नेछ। नगरपालिकाले तोकिएको म्यादभित्र प्रक्रिया पूरा नगर्नेहरूको हकमा आवश्यक कानुनी कारवाही हुने संकेत पनि गरेको छ।
नगरवासीलाई सूचना अनुसार आवश्यक कागजातसहित निर्धारित समयमा प्रक्रिया अगाडि बढाउन नगरपालिकाले आग्रह गरेको छ।
