किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा महायज्ञ, दुई करोड संकलनको लक्ष्य

मध्यपुर थिमी, १ जेठ २०८२:

पितृको उद्धारका लागि १३ दिनसम्म किरियाकर्म गर्न आवश्यक अधुरो पितृमुक्ति भवन निर्माण सम्पन्न गर्न गठ्ठाघर, भक्तपुरमा जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ।

सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुन लागेको महायज्ञका विषयमा जानकारी दिन आज गठ्ठाघरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। समाजका अध्यक्ष खेम सुवेदीका अनुसार महायज्ञबाट संकलित रकम भवन निर्माण, अक्षयकोष स्थापना र पुस्तकालय निर्माणमा खर्च गरिनेछ।

महायज्ञमा मञ्जरी राधिका दाशीले कथा वाचन गर्नेछिन्। श्रीमद्भागवत कथा जेठ १० गतेसम्म सञ्चालन हुनेछ।

“किरियापुत्री भवन जस्तो सामाजिक महत्वको संरचना निर्माण गर्न अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने? भन्ने सोचका साथ महायज्ञको आयोजना गरिएको हो,” अध्यक्ष सुवेदीले बताउनुभयो।

महायज्ञ सफल पार्न १७ वटा उपसमिति गठन गरिएको समाजले जनाएको छ। २०६९ सालमा सम्पन्न पुराणबाट उठेको रकमबाट भवन निर्माण सुरु गरिएको थियो। तर आवश्यक बजेट नपुगेपछि निर्माण अधुरो रहेको सुवेदीले जानकारी दिनुभयो।

“पहिलो चरणमा समाजसेवीहरूको सहयोगमा तीनतले भवन निर्माण भइसकेको छ, जसमा एक करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको छ,” उहाँले भन्नुभयो, “१६ लाख ऋण अझै बाँकी रहेको र त्यसलाई तिर्न तथा बाँकी संरचना बनाउन महायज्ञको आवश्यकता परेको हो।”

भवन पाँच आना दुई पैसा जग्गामा निर्माण भइरहेको छ। दाताहरूको सहयोगलाई मूल्यांकन गर्दै विशेष सम्मानको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजकको भनाइअनुसार, महायज्ञबाट दुई करोड रुपैयाँभन्दा बढी संकलन गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!